पूर्व प्रधानमन्त्री नेपालले भने ‘पारिलो घाम ताप्नोस् र छाता पनि ओड्नोस्’

868
बुधबार सर्लाहीको हरिवनमा आयोजित जेबी टुहुरेको एकल सांगीतिक कार्यक्रम उद्घाटन गर्दै नेता नेपाल तथा साथमा हरिवनका मेयर गणेश प्रसाईं, मन्त्री रामेश्वर राय यादव तथा प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेता कार्यकर्तालाई घाम ताप्न र छाता ओड्न निर्देशन दिएका छन् ।

बुधबार सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा आयोजित जेबी टुहुरे एकल सांगीतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता नेपालले नेता कार्यकर्तालाई त्यस्तो आग्रह गरेका हुन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपा नेपालबीच गठबन्धन भएको स्मरण गराउँदै नेता नेपालले प्रदेश सांसद, नगरपालिकाका मेयर/उपमेयर एवं गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलाई सूर्य (घाम) र छाता चुनाव चिन्ह नविर्सन आग्रह गरे । ‘आसन्न राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर दुईमा नेकपा र राजपा बीच गठबन्धन भएको तपाईंहरुलाई थाहै छ’, नेता नेपालले भने, ‘त्यसैले म यो कार्यक्रममा उपस्थित नेकपा सम्बद्ध प्रदेस सांसद्, नगरपालिकाका मेयर/उपमेयर एवं गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षलाई नेकपा–राजपा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न निर्देशन सहित आग्रह समेत गर्दछु ।’

नेता नेपालले राजपाका प्रदेश सांसद्, मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षलाई समेत गठबन्धनकै उम्मेद्वारलाई भोट हाल्न आग्रह गरे । ‘यताउता हैन नी, जाडो छ, पारिलो घाम (सूर्य) ताप्नोस् र छाता ओड्न पनि नबिर्सनोस्’, नेता नेपालले आग्रह गरे, ‘नेकपा वा राजपा जे भएपनि गठबन्धनका उम्मेद्वारलाई तपाईंहरुले नविर्सनु होला ।’

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले जेबी टुहुरे गीत संगीतको माध्यमले पञ्चायत कालरात्री विरुद्ध लड्दै मुलुकमा राजनैतिक परिवर्तन गर्नका लागि युगिन पात्र रहेको उल्लेख गरे । ‘राजनैतिक सिद्धान्तका आधारमा पञ्चायती कालरात्री विरुद्ध लड्ने योद्धाहरुलाई टुहुरे जस्ता कलाकारहरुले गीत संगीतको माध्यमले थप उर्जावान बनाउथ्यो’, नेपालले भने, ‘टुहुरे जस्ता गीत संगीतका युगिन गायकहरुकै माध्यमले आज मुलुकमा राजनैतिक परिवर्तन सम्भव भएको हो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले मुलुकमा ठूला ठूला राजनैतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन भने हुन बाँकी नै रहेको तर्क गरे । ‘मुलुकमा ठूला ठूला राजनैतिक परिवर्तन त भयो’, नेपालले भने, ‘तर आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन बाँकी नै छ, जनतालाई शिक्षा र स्वास्थ्यको सर्वसुलभ पहुँच सहित समान अधिकार स्थापित गराउनु पर्ने जस्ता महत्वपूर्ण काम बाँकी नै छ ।’