हरिवनको घुर्कौलीमा आज दिउँसो जेबी टुहुरेको एकल गायन हुँदै

हरिवन – सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा आज (बुधबार) दिउँसो ७५ वर्षीय जनवादी गायक जेबी टुहुरेले एकल सांगीतिक प्रस्तुती दिँदैछन् ।

टुहुरेले निरन्तरता प्रत्यक्ष वाद्यवादनका साथमा अभियान अन्तर्गत भाग–४ प्रस्तुती गर्न लागेका हुन् । जेबी टुहुरे फाउण्डेशनको आयोजना रहेको कार्यक्रमलाई हरिवन नगरपालिकाले प्रवद्र्धन गरेको छ भने चेतना सन्देश नेपालले स्थानीय स्तरमा व्यवस्थापन मिलाएको छ । कार्यक्रम दिउँसो १ बजेदेखि हुन लागेको हो ।

गीत संगीतका ऐतिहासिक धरोहर एवं परिवर्तनका संवाहक ७५ वर्षीय युगीन गायक जेबि टुहुरेको एकल सांगीतिक कार्यक्रमलाई उर्जा दिन नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समेत प्रमुख अतिथिको रुपमा भाग लिने आयोजकले जनाएको छ । आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई …………….लगायत मुक्तिको पक्षमा टुहुरेले गाएका अनेकौं गीत चर्चित छन् ।

सांगीतिक कार्यक्रमका लागि ‘ब्याकग्राउण्ड एलईडी’ सहित अत्यन्त गुणस्तरीय साउण्ड सिस्टमयुक्त भव्य स्टेज तयार पारिएको आयोजकले जनाएको छ ।