हरिवनको घुर्कौलीमा पंच र श्रवणको ‘लाईभ कन्सर्ट’ सम्पन्न (फोटो फिचर)

1833
कन्सर्टमा बाँसुरी बजाउदै पंच लामा तथा दायाँ बसेर तवेला बजाउँदै गरेका श्रवण लामा । (तस्बिर : टंक/उज्यालो अभियान)

–पंच–श्रवणलाई सद्भावना दुत बनाउने मुख्यमन्त्रीको घोषणा

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्वपीडित बालगृहमा मंगलवार दिउँसो जापानको चौतारी ब्याण्डले ‘ब्याकग्राउण्ड एलईडी’ सहितको सांगितिक लाईभ कन्सर्ट सम्पन्न गरेको छ ।

घुर्कौली निवासी दाजुभाई बाँसुरीवादक पंच लामा एवं तवेलावादक श्रवण लामा सहित ब्याण्डमा आवद्ध जापानिज कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका थिए । पंचले बाँसुरीका अनेकौ धुनमा श्रोताहरु मन्त्रमुग्ध बनेका थिए भने श्रवणले तवेला बजाउँदा सहभागि जुरुक जुरुक उफ्रेका थिए । जापनिज महिला कलाकारले बेली डान्स लगायत अन्य कला प्रस्तुती गर्दा दर्शकलाई भरपुर मनोरञ्जन प्राप्त भयो ।

चेतना सन्देश नेपालको आयोजना एवं हरिवन नगरपालिकाले प्रवद्र्धन गरेको कार्यक्रमको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । मुख्यमन्त्री राउतले जापानमा बसेर नेपाली गीत संगीतको माध्यमले मुलुकको नाम उचो बनाउने पंच र श्रवणलाई प्रदेश सरकारको तर्फबाट भिजिट नेपाल २०२० को सद्भावना दुत बनाउने घोषणा गरे । ‘संघीय सरकारले गरोस् नगरोस्, प्रदेश सरकारको तर्फबाट उहाँ दाजुभाईलाई भ्रमण वर्ष सफल बनाउनका लागि सद्भावना दुत बनाउछु ।’ मुख्यमन्त्री राउतको प्रतिबद्धता थियो । त्यस्तै मुख्यमन्त्री राउतले द्वन्द्वपीडित बालगृहका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।

कार्यक्रमकै अवसरमा चौतारी ब्याण्डको तर्फबाट पंच–श्रवणले द्वन्द्वपीडित बालगृह सञ्चालन गर्ने चेतना सन्देश नेपाललाई सहयोग स्वरुप ११ लाख २० हजार रुपैंयाको चेक समेत प्रदान गरे । कार्यक्रममा हरिवन नगरपालिकाले पंच र श्रवण दाजुभाईलाई अभिनन्दन समेत गरेको छ । मुख्यमन्त्री राउतले दुवैजनालाई अभिनन्दनपत्र सहित सम्मान गरे । त्यस्तै आयोजक चेतना सन्देश नेपालले समेत मुख्यमन्त्री राउतलाई मायाको चिनोले सम्मान गरेको छ । मुख्यमन्त्री राउत झण्डै साँढे २ घण्टा कार्यक्रम स्थलमा बसेर पंच–श्रवणको बाँसुरीवादन तथा वाद्यवादन कला हेर्ने र सुन्ने गरेका थिए ।
राष्ट्रिय सभाका सदस्य खेम नेपालीको सञ्चालन रहेको कार्यक्रम आयोजक चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता रहेको थियो । कार्यक्रममा अध्यक्ष लामाले स्वागत तथा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले कार्यक्रमको उद्धेश्य लगायत यावत पक्षमा प्रश्ट्याएका थिए ।
कार्यक्रममा प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेती, बेची लुंगेली, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, हरिपुर नगरपालिकाका मेयर जमरुद्धिन मन्सुर, उपमेयर रेणुका काफ्ले, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका एसपी दिलिपकुमार सिंह, विभिन्न राजनैतिक दलका केन्द्रीय, जिल्ला एवं नगर र गाउँ तहका नेताहरु, उद्योगी व्यापारी, समाजसेवी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
पंच लामाले संगीत यात्रा सूरु गरेको ३५ वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गरिएको र अब भिजिट नेपाल २०२० को अवसरमा नेपाललाई चिनाउने गरी पंच–श्रवणले विश्व सांगीतिक यात्रा समेत गर्ने आयोजक चेतना सन्देश नेपालले जनाएको छ । पंच–श्रवण दाजुभाईले आफ्नो आम्दानीको १० प्रतिशत द्वन्द्वपीडित बालगृहलाई सहयोग गर्दै आईरहेका छन् ।

भोली (बुधबार) दिउँसो जेबी टुहुरेको प्रस्तुती

यस्तै द्वन्द्वपीडित बाल गृह घुर्कौलीमै भोली (बुधबार) दिउँसो १ बजेदेखि जनवादी गीत संगीतका ऐतिहासिक धरोहर एवं परिवर्तनका संवाहक ७५ वर्षीय युगीन गायक जेबि टुहुरेले एकल सांगीतिक प्रस्तुति दिँदैछन् । जेबी टुहुरे फाउण्डेशनको आयोजना एवं हरिवन नगरपालिकाको प्रवद्धन रहेको कार्यक्रममा नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता रहनेछ ।