गल्ला व्यापार संघद्वारा तीन सय परिवारलाई कम्बल

628
विपन्न परिवारलाई कम्बल वितरण गर्दै सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको ईश्वरपुरमा सोमवार तीन सय अति विपन्न र असहाय परिवारलाई कम्बल वितरण गरिएको छ ।

गल्ला व्यापार संघ बयलवासले नगरपालिकाको १५ वटै वडाका चिसोबाट अति प्रभावित परिवारलाई कम्बल वितरण गरेको हो । संघका अध्यक्ष फकिरा साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह प्रमुख अतिथि थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य उपेन्द्र महतो, नगरप्रमुख मनोजकुमार देवकोटा, उपप्रमुख एकावती देवी चौधरी, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, उद्योग वणिज्य संघ ईश्वरपुरका अध्यक्ष विष्णुहरि मैनाली लगायतको आतिथ्यता थियो । बयलवास बजारका सम्पूर्ण गल्ला व्यापारी मिलेर खरिद गरिएको कम्बल चिसो प्रभावितलाई वितरण गरिएको उद्योग वाणिज्य संघ ईश्वरपुरका पूर्व अध्यक्ष एवं ईश्वरपुर नगरपालिका–९, का वडाध्यक्ष अमिरीलाल साहले जानकारी दिए ।