सोलार चार्ज हुन नपाउँदा चुरेवासी अन्धकारमा

295

लालबन्दी – निरन्तर हुस्सु लागेर सोलारले काम गर्न छाडेपछि सर्लाहीको चुरेक्षेत्रको विकट गाउँका स्थानीय वासिन्दा मारमा परेका छन् ।

जिल्लामा तीन दिनदेखि घाम देखा परेको छैन् । घाम नलाग्दा सोलार चार्ज हुन नपाएको हो । बिजुली बत्ती नपुगेको सर्लाहीको चुरेभेगका स्थानीय वासिन्दा सोलार र टुकी बत्तीको भरमा छन् । सर्लाहीको साबिकका नारायणखोला, अत्रौली, कालिन्जोर, परवानीपुर, ढुंगे्रखोला र कर्मैयाका केही विकट चुरे बस्तीमा विद्युत् पुगेको छैन् । नारायणखोलाका स्थानीय रोशन दोङले बिजुली बत्ती नपुगेको नारायणखोलाको डाँडापाखाका बस्तीमा घाम नलागेर सोलार ब्याट्री चार्ज हुन नपाएको जानकारी दिए । सोलारले काम नगर्दा चुरेबासी अन्धकारमा बस्नुपर्ने अवस्था आएको छ । सोलारले काम नगर्दा कतिपय वासिन्दालाई मोवाईल चार्ज गर्न पनि समस्या हुन थालेको गुनासो गरेका छन् ।

यता निरन्तर स्याँठ चल्दा सर्लाहीमा कठ्यांग्रिदो चिसो भइरहेको छ । स्याँठका कारण मानिसलाई घरबाहिर निस्कनै मुस्किल परिरहेको छ । बिहानपख बाक्लो हुस्सु लाग्ने र त्यसपछि दिनभर चिसो स्याँठ चल्ने भइरहेको हो । यस्तै चिसोका कारण पशुपंक्षी समेत प्रभावित भइरहेका छन् ।