समुन्नति कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराइयो

173
कार्यक्रममा उपस्थित मेयर मनोज देवकोटा लगायत । (तस्बिर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाभित्र सन् २०२० मा सञ्चालन हुने समुन्नति कार्यक्रमबारे सोमवार सरोकारवालालाई जानकारी गराइएको छ ।

सेभ द चिड्रेनको सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले ईश्वरपुर नगरपालिकाको १५ वटै वडामा गर्ने कामबारे जानकारी गराएको हो । सोही अवसरमा सन् २०१९ मा समुन्नति कार्यक्रमको प्रगतिबारे जानकारी गराइएको थियो । कार्यक्रममा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटा, उपप्रमुख एकाबती देवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमा न्यौपाने, संस्थाका पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा काम गरिने समुन्नति कार्यक्रमका लागि ईश्वरपुर नगरपालिकाका १५ वडै वडामा यो वर्ष झण्डै पौने ४ करोड रुपैयाँ खर्च गरिँदै छ । समुन्नति कार्यक्रम अन्तर्गत प्रकोपका बेला पीडितलाई राहत वितरण गर्ने, बालबालिकाका लागि विद्यालयमा खानेपानी सुविधा उपलब्ध गराउने, शैक्षिक सामाग्री वितरण गर्ने, नगर शिक्षा नीति निर्माण गर्न नगरपालिकालाई सहयोग गर्ने जस्ता काम गरिरहेको ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।