सर्लाहीमा ‘मिटरब्याजी’ काण्डको जुलुस नै जुलुस

729
आईतबार दिउँसो सर्लाहीको बरहथवामा ‘मिटरब्याजी’को आरोपमा प्रहरी हिरासतमा रहेका रामबाबु राय यादवलाई छाड्न माग गर्दै निकालिएको जुलुस । (तस्बिर : टंक क्षेत्री/उज्यालो अभियान)
आईतबार दिउँसो नै बरहथवा बजारमा ‘मिटरब्याजी’ आरोपीद्वय रामबाबु राय यादव तथा संजय साह रौंनियार विरुद्ध प्रदर्शन गर्दै ऋणपीडितहरु । (तस्बिर : टंक क्षेत्री/उज्यालो अभियान)

टंक क्षेत्री/बरहथवा – आईतबार दिनभर सर्लाहीको बरहथवा बजार तनावग्रस्त देखिएको थियो । ‘मिटरब्याजी’ को आरोपमा पक्राउ परेका रामबाबु राय यादवलाई छाड्न दबाब दिदै निकालिएको जुलुस र उक्त कार्यक्रम सकिएलगतै ऋणपीडितहरुले गरेको प्रदर्शनका कारण बरहथबा बजार तनावग्रस्त बनेको हो ।

कतै दुवै पक्षबीच झडप त हुने हैन भन्ने भयले बजारबासी त्रसित देखिन्थे । सायद, कुनै अपृय घटना नहोस् भन्नका खातिर आईतबार दिनभर बरहथवा बजारमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटाईएको थियो ।

समाजको अगुवा एवं प्रबुद्ध वर्गको नाममा दिउँसो साँढे १ बजेतिर प्रहरी हिरासतमा रहेका यादवलाई तत्काल छाड्न माग गर्दै जुलुस निस्कियो । बरहथवाको दिपेक सिनेमा हल छेउबाट निस्किएको जुलुस बजार परिक्रमा गर्दै नयाँ नेपाल बैंक अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

जुलुसका सहभागिले झुठा मुद्धा लगाउन पाईदैन, रामबाबु राय यादवको सामाजिक चरित्र हत्या गर्न पाईदैन, रामबाबु राय यादवलाई अबिलम्ब रिहाई गर, भ्रामक मिडिया मुर्दावाद जस्ता नाराबाजी गरेका थिए । कोण सभामा राष्टिूय जनता पार्टी (राजपा) नेपाल सर्लाहीका सचिव बलिराम चौधरी, क्षेत्र नं. ४ का अध्यक्ष रामसिंहासन राय, लक्षुमन साह, गंगाराम राय, भिखम राय, प्रेमशिला सिंह लगायतले सम्बोधन गरेका थिए । वक्ताहरुले सरकारले मधेशीमाथि अनेक बहानामा धरपकड सूरु गरेको आरोप लगाए । कोण सभालाई सम्बोधन गर्दै आधा दर्जन बढी वक्ताहरुले यादव शिक्षा एवं समाजसेवी तथा राजनीतिज्ञ समेत भएको दाबी गर्दै उनलाई कानून विपरित पक्राउ गरिएको दाबी गरे । यादवलाई अबिलम्ब रिहाई नगरीए कडा आन्दोलन गर्ने वक्ताहरुले चेतावनी दिए ।

प्रहरी हिरासतमा रहेका यादवको पक्षमा भएको प्रदर्शनमा सहभागि गराउन गाउँ गाउँबाट बस र ट्याक्टरबाट सर्वसाधारण ल्याईएको थियो । प्रदर्शनका सहभागिलाई दिपेक सिनेमा हल छेउको चौरमा खाजाको समेत व्यवस्था गरिएको थियो । ईलाका प्रहरी कार्यालय बरहथवाका अनुसार प्रदर्शनमा एक हजार हाराहारी सर्वसाधारण सहभागि थिए ।

रामबाबु राय यादव पक्षको प्रदर्शन कार्यक्रमको समन्वयमा लागि परेका गैर सरकारी क्षेत्रमा क्रियाशिल सामाजिक कार्यकर्ता गजेन्द्र साहले यादवको पक्षमा विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता एवं सामाजिक व्यक्तित्वहरु स्वतस्फुर्तः रुपमा आएको दाबी गरेका छन् । उनले सरकारले गैरकानूनी ढंगले धरपकड गर्न थालेपछि मधेशी जनता सडकमा आउन बाध्य भएको बताए ।

यादवको पक्षको प्रदर्शन सकिए लगतै ऋणपीडितहरुको समूहले आईतबार दिउँसो नै बरहथवा बजारमा प्रदर्शन गरेको छ । पूरानो बैंक चोकबाट सूरु भएको ऋणपीडितहरुको जुलुस पुनः सोही चोकमा आएर कोण सभामा परिणत भएको थियो । ‘पीडक’को पक्षमा बरहथवा बजारमा जुलुस सहितको प्रदर्शन भएपछि ऋणपीडितहरुले तत्कालै आफ्नो उपस्थिती जनाए ।

उपलब्ध ऋणपीडितहरुले नाराबाजी सहित जुलुस गरेर विरोध प्रदर्शन गरेका थिए । रामबाबु राय यादवको पक्षमा प्रदर्शन हुने कुरा ढिला गरी थाहा भएकाले आईतबार आफूहरुको प्रदर्शन कमजोर देखिएपनि आगामी दिनमा हजारौंको उपस्थितीमा विरोध प्रदर्शन गर्ने पीडितहरुको भनाई थियो । बजार परिक्रमाका क्रममा ऋणपीडितहरुले रामबाबु राय यादव र संजय साह रौनियार मिटरब्याजी भएकाले उनीहरुलाई कडा कारबाही गर्नुपर्ने सहित रामबाबु राय यादव र संजय साह रौनियार मुर्दावाद जस्ता नाराबाजी गरेका थिए ।

पूरानो नेपाल बैंक चोकमा भएको कोणसभामा बोल्दै बरहथवा नगरपालिका–१ हजरियाका निरगुण राय यादवले रामबाबु राय यादवसँग लिएको ऋणकै कारणले आफ्नो विल्लीबाठ भएको वेलिविस्तार लगाए । आफूले २०५९ सालमा २ लाख तथा २०६० सालमा थप दुई लाख गरी ४ लाख रुपैंया ऋण लिँदा रामबाबु राय यादवले १२ लाख रुपैंयाको तमसुकमा सहीछाप गराएको र त्यसबापत आफूले पास (राजिनामा) गरेको २ विगहा १ कठ्ठा जमिन अझैपनि बन्धक बनेको निरगुणको गुनासो थियो ।

‘रामबाबुसँग ऋण लिँदा २ विगहा १ कठ्ठा जग्गा उनकै नाममा पास (राजिनामा) गरिदिएको थिएँ, तर उनले मलाई थाहै नदिई भित्रभित्रै १६ कठ्ठा बेचिसके छन्’, निरगुणको दुःखेसो थियो, ‘बीचमा एकपटक साँढे ७३ हजार र अर्को पटक ५० हजार गरी दुई किस्ता पैसा पनि दिईंसकेको थिएँ, लामो समय भईसक्यो ऋणको हिसाबकिताब गरौं भन्दा उनले कुनै सुनुवाई नै गरेनन् तर सुटुक्क १६ कठ्ठा जग्गा १६ लाख रुपैंयामा बेचीसकेछन्, बाँकी २५ कठ्ठा जमिन पनि उनैले राखिरहेका छन् ।’ ऋणपीडितहरुको विरोध सभामा पीडित सिंहेश्वर सहनी, विन्देश्वर सहनी लगायतले ऋण लिँदाको आफ्नो पीडा सहितको गुनासो सुनाएका थिए ।

ऋणपीडितले केही दिनअघि संघीय राजधानी काठमाडौंमै गएर ‘मिटरब्याज’को विरोधमा प्रदर्शन गरेका थिए । पीडितहरुले गृह मन्त्रालयमै उजुरी गरेपछि सर्लाही प्रहरीले यादवलाई पक्राउ गरी कारबाही प्रकृया अगाडी बढाएको छ । सर्लाही प्रहरीले यादवलाई गत वुधवार हरिपुरबाट पक्राउ गरी आवश्यक कारबाही प्रकृया अगाडी बढाईएको जनाएको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेका छन् । यादव राजपा नेपालका केन्द्रीय सदस्य हुन् भने स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकामा मेयर (प्रमुख)को प्रत्यासी समेत रहेका थिए ।

पीडितहरुले उजुरी दिएपनि अर्का ‘मिटरब्याजी’ आरोपी संजय साह रौंनियार भने भारततर्फ भागेको र उनको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव र रौनियारले एकपटक ऋण दिँदा पाँच गुणा बढीको फरक फरक तमसुकमा सहीछाप गराउने गरेको पीडितहरुको गुनासो छ । ऋणको साँवा र ब्याज गरी पटक–पटक तिर्दा समेत यादव र रौंनियारले तमसुक भने नच्यात्ने गरेको उनीहरुको आरोप छ ।

केही समय अघि कविलासी नगरपालिका–२, पिपरिया निवासी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई समेत प्रहरीले ‘मिटरब्याजी’को आरोपमा पक्राउ गरी ठगी मुद्धामा कारबाही प्रकृया चलाएको थियो । जिल्ला अदालत सर्लाहीको आदेश अनुसार कलवार हाल रौतहटको गौर कारागारमा पूर्पक्षका लागि थूनामा छन् ।

यता तराई मधेशको ग्रामीण भेगमा मर्दा–पर्दा ऋण नपाईने त्रास समेत बढेको छ । ऋण दिने साउ महाजनहरु धमाधम ‘मिटरब्याजी’ अर्थात ठगीको आरोपमा कारबाही प्रकृयामा परेपछि तराई मधेशको ग्रामीण भेगमा ऋण प्रवाह गर्ने ‘मनकारी’को अभाव हुने भन्दै चिन्ता बढेको छ । ‘अब हुँदा हुँदा सहयोगि भावना सहित ऋण प्रदान गर्नेहरु समेत ‘मिटरब्याजी’को आरोप खेप्न बाध्य हुने अवस्था आईपरेको छ’, एक राजनैतिक दलका नेताले भने, ‘गाउँमा मर्दा–पर्दा कर्जा दिने कोही पनि नहोलान जस्तो छ ।’ कतिपय ऋणिले ‘मिटरब्याजी’ को बहाना लगाउँदै सही ढंगले तिर्नुपर्ने ऋणमा समेत बठ्याईँ गर्न थालेको गाउँ गाउँमा चर्चा चल्न थालेको छ ।