सर्लाहीमा दुई दिनदेखि चिसो स्याँठ, जनजीवन प्रभावित

1101
फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीसहित तराई मधेसका जिल्लामा दुई दिनदेखि निरन्तर चिसो स्याँठ चलिरहेको छ ।

यस क्षेत्रमा सुक्रवार र शनिवार दिनभर घाम देखा परेन् । स्याँठले चिसो बढाउँदा सर्वसाधारण प्रभावित भएका छन् । बिहानपख बाक्लो हुस्सु लागेर दिनभर चिसो स्याँठ चल्दा जनजीवन प्रभावित बनेको हो । स्याँठका कारण मानिस सहजै रुपमा घर बाहिर निस्कन सकेका छैनन् । जिल्लाका सडक तथा बजार क्षेत्रमा चिसो स्याँठका कारण मानिसको उपस्थिति पातलिएको छ । यस क्षेत्रमा पुस लागेदेखि केही दिन दिउँसोपख घाम लागेपनि अरु बेला प्रायः चिसो स्याँठ चल्ने, मौसम धुम्मिने र बाक्लो हुस्सु लाग्ने गरिरहेको छ ।

अहिलेको चिसो स्याँठले छाती, घाँटी र टाउकोमा तत्कालै संक्रमण भइहाल्ने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । चिसो बढ्दा मानिससँगै पशु चौपाय, जनावर र पंक्षी पनि प्रभावित भइरहेका छन् । शीतलहर र बाक्लो हुस्सुले आलु, गोलभेंडा लगायतका बाली प्रभावित भइरहेको किसानले बताएका छन् ।