विभत्स् हत्या गरिएको अवस्थामा पूरुषको शव फेला

236

रामनगर – सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिका–३, ढाबटोलका लखिन्द्र सहनीको हत्या भएको छ ।

५० वर्षीय सहनीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा रामनगर गाउँपालिका–५, मनुष्मारा खोलामा शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए । खेती किसानी गर्ने सहनीको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा सहनीलाई अन्यत्र हत्या गरी मनुष्मारा खोलामा ल्याई फालेको जस्तो देखिएको डीएसपी राठौरले बताए । मृतकको शव पोष्टमार्टमका लागि मलंगवास्थित जिल्ला अस्पताल ल्याई घटनाको सम्वन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहनीको हत्यापछि रामनगरका स्थानीय वासिन्दा त्रसित भएका छन् ।

सर्लाहीमा गत सोमबार मात्रै बागमती नगरपालिका–५, राजघाटकी २५ वर्षीया पूर्णिमा मोक्तानको शव फेला परेको थियो । मोक्तानको घर नजिकैको बूढी बागमती खोलामा शव फेला परेको थियो । प्रहरीले मोक्तानको हत्या भएको हुन सक्ने आशंकामा राजघाटकै एक जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहे पनि थप कुरा खुलाएको छैन् । केही दिनभित्रै घटनामा संलग्नहरु सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।