बागमतीमा ३७३ महिलाको निःशुल्क पाठेघर परीक्षण

1131
आईतबार बागमती नगरपालिकाद्वारा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा जँचाउन आएका महिलाहरु । (फाईल तस्बिर)


सरिता सापकोटा/बागमती । पुस २७ – सर्लाहीको बागमतीमा पाठेघरको परीक्षण गर्न आयोजित निःशुल्क शिविरमा ३७३ जना महिलाले लाभ लिएका छन् ।

बागमती नगरपालिकाको स्वास्थ्य शाखाले कर्मैया स्वास्थ्य चौकीमा आयोजना गरेको शिविरबाट बागमती नगरपालिकाको वडा नं. १, ४, ११ र १२ का महिला लाभान्वित भएका हुन् । शनिवार एक दिनका लागि मात्रै आयोजना गरिएको शिविरमा सेवा लिन आउने महिलाको चाप अत्यधिक भएपछि आइतवार पनि सञ्चालन गरिएको हो । शिविरमा महिलाहरुको पाठेघरमा रिङ राख्ने, भीआइए परीक्षण गर्ने, फिस्टुलाको उपचार लगायत सेवा प्रदान गरिएको आयोजक बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक पदमबहादुर रायमाझीका अनुसार शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका डा. राधेश्याम यादव र कर्मैया स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए । शिविरमा पाठेघर परीक्षण गराएका महिलामध्ये २२ जनाको पाठेघरमा क्यान्सरको आशंका गरिएको छ भने २० जनाको पाठेघरमा मासु पलाएको पाइएको स्वास्थ्य शाखा सह–संयोजक रायमाझीले उज्यालो अभियानलाई जानकारी दिए ।

ती दुई प्रकारका बिरामीलाई काठमाण्डौंमा गएर तत्काल थप उपचार गराउन सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन् ।