जुटपानी माविका पूर्व विद्यार्थीले बाँडे विपन्न विद्यार्थीलाई स्वीटर

295


सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको नवजीवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययरत विपन्न विद्यार्थीलाई आइतवार एक कार्यक्रमका बीच स्वीटर वितरण गरिएको छ ।
त्यही विद्यालयमा अध्ययन पूरा गरेर अहिले विभिन्न पेशा व्यवसायमा आवद्ध रहेका पुराना विद्यार्थीहरुले गठन गरेको नवजीवन भूतपूर्व विद्यार्थी समाजले विद्यालयका सय जना विपन्न विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । विद्यालयको बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययरत अत्यन्तै विपन्न विद्यार्थी छनौट गरी स्वीटर वितरण गरिएको समाजका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक भोला अधिकारी र अन्य शिक्षकहरुको उपस्थितिमा भूतपूर्व विद्यार्थी समाजमा आवद्ध पूर्व विद्यार्थीहरुले विद्यालयमै पुगेर स्वीटर वितरण गरेका हुन् । पूर्व विद्यार्थीहरुबीच रकम सङ्कलन गरी विपन्न विद्यार्थीलाई स्वीटर प्रदान गरेको अध्यक्ष श्रेष्ठले वताए ।
कठ्याङग्रिदो चिसोमा स्वीटर पाएपछि बालबालिका खुशी भएका छन् ।

यसैबीच विगत तीन दिनदेखि चलिरहेको चिसो स्याँठले सर्लाहीसहित आसपासका जिल्लाको जनजीवन प्रभावित भइरहेको छ । यस क्षेत्रमा तीन दिनदेखि घाम देखा नपरी बिहानपख बाक्लो हुस्सु लाग्ने र मध्यान्हपछि चिसो स्याँठ चलिरहेको छ ।