एक हजार बढीको निःशुल्क आँखा परीक्षण

457
शिविरमा मोतिया बिन्दुको शल्यक्रियापछि जम्मा भएका वृद्धबृद्धा । (तस्बिर : उज्यालो अभियान)

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरमा आयोजित निःशुल्क शिविरमा ठूलो संख्यामा आँखाका बिरामीले लाभ लिएका छन् ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाण्डौंको आयोजना एवं जय माँ महारानी बचत तथा ऋण सहकारी संस्था श्रीनगरको सह–आयोजनामा यही पुस २२ गतेदेखि बिहिवारसम्म सञ्चालित आँखा शिविरमा एक हजार ६५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको हो । शिविरमा फेला परेका १३७ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया पनि निःशुल्क गरिएको शिविर सह–आयोजक संस्थाका अध्यक्ष धनेश्वर महतोले जानकारी दिए । शिविर २५ गते नै सक्ने तयारी गरेपनि बिरामीको चाप बढेकाले शनिवारसम्म सञ्चालन गरी समापन गरिएको संस्थाले जनाएको छ ।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाण्डौंका डा. इन्दु ढुङ्गेल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाका बिरामीको औषधोपचार गरेको हो । यहाँ आएर आँखाका बिरामीको सेवा गरेकोमा संस्थाले स्वास्थ्यकर्मीहरुलाई भव्य रुपमा विदाई गरेको संस्थाका सचिव विज्ञान महतोले बताए । शिविर समापन समारोहमा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ लगायत सहभागी भएका थिए ।