न्याय पाउने आशमा ‘मिटरब्याजी’ पीडित सर्लाही फर्किए

2276
न्याय पाउने आशमा जिल्ला फर्किएका पीडितहरु । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)

लालबन्दी – सर्लाहीका दुई खुंखार ‘मिटरब्याजी’ पीडित न्याय पाउने आशमा संघीय राजधानी काठमाडौंबाट बिहिवार बिहान जिल्ला फर्किएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्षस्त नेता र सुरक्षा अधिकारीले पीडक मिटरब्याजीलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने आश्वासन दिएपछि पीडितहरु घर फर्किएका हुन् । बरहथवाका रामबाबु राय यादव र ब्रम्हपुरीका सञ्जय साह रौनियारबाट आफूहरु निकै पीडित बनेको विहिबार दिउँसो सर्लाहीका संचारकर्मीसँग उनीहरुले गुनासो गरे । वुधवार राती नाईट बस चढेका उनीहरु बिहिवार बिहान जिल्ला आइपुगे लगत्तै कानुन व्यवसायीसँग समन्वय गरी प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा जुटेका छन् ।

मिटरब्याजी यादव र रौनियारबाट ऋण लिएर पीडित भएकाहरुले साहको ऋण चुक्ता गर्दा पनि कपाली तमसुक फिर्ता नगरेको, दृष्टिबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको जस्ता गुनासो गरेका छन् । शीर्षस्त नेताहरु र सुरक्षा अधिकारीले आफूहरुको तर्फबाट न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएपछि घर फर्किएको ईश्वरपुर नगरपालिका–५, का रवीन्द्र कुशवाहाले उज्यालो अभियानलाई जानकारी दिए ।

पीडितहरु काठमाडौं पुगेर गुनासो राखे लगत्तै मिटर ब्याजमा ऋण लगानी गरी धेरैलाई उठिबास लगाएको आरोपमा बरहथवा नगरपालिकाको सीतापुर निवासी रामबाबु राय यादव पक्राउ वुधवार नै परिसकेका छन् । उनीविरुद्ध जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताएका छन् ।

ब्रह्मपुरी गाउँपालिका निवासी अर्का मिटरब्याजी सञ्जय साह रौनियार भने फरार छन् । भारतमा लुकिछिपी बसेको सूचना पाएपछि सर्लाही प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी रौनियारको पनि खोजी तीव्र पारिएको डीएसपी राठौरले बताए । पीडितहरुले यसअघि मिटरब्याजी श्याम परदेशी साह कलवारबाट पीडित भएकाहरुले न्याय पाए झैँ आफूहरुले पनि पाउने विश्वास लिएका छन् ।

यसैबीच हाल जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेका ‘मिटरब्याजी’ रामबाबु राय यादवलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल सर्लाहीले बिहिवार दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन समेत गरेको छ । यादव निर्दोष रहेको भन्दै विभिन्न नाराबाजी सहित मलंगवा नगर परिक्रमा गरेको राजपा र्यालीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको छ । बिना पक्राउ पूर्जी एक्कासी यादवलाई पक्राउ गरिएको प्रति आपत्ती जनाउँदै राजपाले अबिलम्ब रिहाई गर्न माग गरेको छ ।

यादव गत स्थानीय तहको निर्वाचनमा राजपाको तर्फबाट बरहथवा नगरपालिकामा मेयर पदको प्रत्यासी थिए ।