सर्लाहीको नारायणखोलामा ७ हजार बोट गाँजा नष्ट

गत वर्ष नारायणखोलामा गाँजा फडाँनी गर्दै तत्कालिन प्रजिअ मोहनबहादुर जिसी सहित सुरक्षाअधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

–मंगलबार पनि हजारौं बोट नष्ट गरिँदै

नारायणखोला – सर्लाहीको कर्णाली मानिने उत्तरी चुरेभेगस्थित विकट गाउँ नारायणखोलामा तीन विगहा भन्दा बढी क्षेत्रफलमा लगाईएको गाँजा खेती प्रहरीले नष्ट पारेको छ ।

लालबन्दी नगरपालिका–१४, साविक नारायणखोला गाविस अन्तर्गत मटरदोभान क्षेत्रमा तीन विगहा क्षेत्रफलमा गरिएको सात हजार भन्दा बढी गाँजाको बोट काटेर नष्ट पारिएको नेपाल प्रहरीका उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । सोमबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मलंगवा, ईलाका प्रहरी कार्यालय लालबन्दी, प्रहरी चौकी पत्थरकोट, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीहरुको टोलीले गाँजा फँडानी गरेको हो ।

गाँजा फँडानी गर्न प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ सहित ठूलो संख्यामा सुरक्षाकर्मी टोली नारायणखोला पुगेको थियो । व्यवसायिक ढंगले गाँजा खेती भईरहेको विशेष सुराकीका आधारमा गाँजाको बोट नष्ट गर्न सुरक्षाकर्मीको टोली नारायणखोला पुगेको प्रजिअ जिसीले जानकारी दिए ।

नेपाल प्रहरी सर्लाहीका प्रमुखको रुपमा सरुवा भएर आए लगतै प्रहरी उपरीक्षक पोखरेलले केही साताअघि सर्लाहीकै हरिवन नगरपालिका–१, स्थित चुरेक्षेत्रको बेलडाँडामा लगाइएको गाँजा फडानी गरिएको थियो । त्यहाँ पनि १० हजार भन्दा बढी गाँजाको बोट नष्ट गरेको थियो । अवैध किसिमले विभिन्न स्थानमा लगाइएको गाँजा खेती क्रमैसँगै नष्ट गरिँदै जाने सर्लाही प्रहरीले जनाएको छ ।

वरिपरी मकैं लगाउने र बारीभरी गाँजा खेती हुने गरेको देखिएको प्रहरीले जनाएको छ । फँडानी गर्नुपर्ने गाँजा अझै निकै रहेकाले नारायणखोलाको सतास छेउमा नेपाल प्रहरी र सशस्त्र पप्रहरीका सुरक्षाकर्मी टोली छाडेर आईएको र मंगलबार पुनः गाँजा फँडानी कार्य हुने प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।