हरिवनकी उपमेयरले वितरण गरिन् थामी समुदायलाई स्याउको विरुवा

490
थामी समुदायलाई स्याउँको कलमी विरुवा प्रदान गर्दै हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल । (तस्बिर : अच्यूतम सापकोटा)

हरिवन – हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलले आफ्नै व्यक्तिगत खर्चमा स्याउको कलमी विरुवा वितरण गरेकी छिन् ।

उपमेयर पौडेलले हरिवन नगरपालिका–१ चुरे क्षेत्रमा पर्ने थामीटोलका बासिन्दालाई दुई सय कलमी विरुवा प्रदान गरेकी हुन् । २५ घरधुरी थामी समुदायले हर्मन ९९ र अन्ना जातको स्याउँको खेती सुरु गरेका हुन् । लोपउन्मुख थामी समुदायलाई नगर उपप्रमुख पौडेलले स्याउँ खेतीका लागि शनिवार बिहान एक कार्यक्रमका बीच निःशुल्क कलमी विरुवा प्रदान गरेकी हुन् ।

केही समयदेखि स्याउँ खेतीको परीक्षणका लागि भारतको हिमाञ्चल प्रदेशबाट ३६ वटा विरुवा ल्याएर रोप्दा राम्रो फल लागेपछि थप विरुवा ल्याएर व्यवसायिक खेती सुरु गरिएको नगर उपप्रमुख पौडेलले जानकारी दिईन् । उनले हिमाली तथा पहाडी क्षेत्रमा मात्रै खेती हुने स्याउँको तराईमा पनि व्यवसायिक खेती गरेर सकारात्मक सन्देश दिन टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उपप्रमुखको पहलमा स्याउँको निःशुल्क विरुवा प्राप्त गरी व्यवसायिक खेती गर्न पाउँदा थामी समुदाय खुशी भएका छन् ।