युवतीलाई भारत लैजादै गर्दा दुईजना पक्राउ

198

मलंगवा – सर्लाही सदरमुकाम मलंग्वाबाट मानव बेचबिखन तथा ओसारपसारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

राम्रो तलब सुविधा पाउने प्रलोभन देखाई चार जना युवतीलाई भारततर्फ लान खोज्दा जयबहादुर खत्री सार्की र अमृता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । मलंगवा नगरपालिका–८ स्थित सीमाबाट पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वराज पोखरेलले जानकारी दिए । युवतीहरुलाई रातको समय पारेर भारततर्फ प्रवेश गराउन खोज्दा सार्की र श्रेष्ठलाई सशस्त्र प्रहरीले शंका लागि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

उनीहरु माथि थप अनुसन्धान भइरहेकाले प्रहरीले ठेगाना र अन्य विवरण खुलाएको छैन् । सार्की र श्रेष्ठले भारततर्फ लाँदै गर्दा उद्धार गरिएका चार युवतीलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको एसपी पोखरेलले बताए ।