बागमती नगरपालिकाको शिक्षा ऐन ‘सन्ततीलाई अनिवार्य सामुदायिक विद्यालयमै पढाउनु पर्छ’

558
नगर शिक्षा ऐनमा उल्लेख भएका विषय कार्यान्वयनमा सहयोग पु¥याउँछु भन्दै प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेतीबाट सपथ ग्रहण गर्दै बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापा । (तस्बिर : जनार्जन/उज्यालो अभियान)

बागमती – ‘सामुदायिक विद्यालयको स्तर सुधारौँ, आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाऔँ’ भन्ने मूल नाराका साथ सर्लाहीको बागमती नगरपालिकाले जिल्लामै पहिलो पटक नगर शिक्षा ऐन सार्वजनिक गरेको छ ।

सामुदायिक विद्यालयमा शिक्षाको स्तर सुधार गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार निर्माण गरिएको शिक्षा ऐन शनिवार दिउँसो नगरपालिका प्रागंणमै एक भव्य समारोहका बीच सार्वजनिक गरिएको हो । नगर शिक्षा ऐन २०७५ को बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक नगर शिक्षा ऐनमा नगरभित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउनु पर्ने उल्लेख छ ।

यदी नगर शिक्षा ऐन विपरीत उनीहरुले निजी विद्यालयमा बालबच्चा पढाएको पाइएमा नगरपालिकाबाट प्रदान हुने सबैखाले सेवा सुविधा रोक्का गरिने नगरप्रमुख थापाले बताउनुभयो । उनले यसको शनिवारकै दिनदेखि निगरानी गर्न सुरु गरिएको समेत बताए । नगरप्रमुख थापाले नगरपालिका मात्रैले शिक्षा ऐन लागू गर्न सम्भव नरहेकाले यसमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
नगर शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले नगरपालिकामा अध्यक्ष छान्न सिफारिस गर्नेछ । यसरी गरेको सिफारिस मध्येबाट नगर शिक्षा समितिको मापदण्ड बमोजिम तोकेको व्यक्ति सो समितिको अध्यक्ष हुनेछ ।

यस्तै एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पुरा गरेको स्थायी शिक्षकलाई तोकिए बमोजिमको मापदण्डको आधारमा नगरपालिकाले आफ्नो नगर भित्रको कुनै पनि विद्यालयमा सरुवा गर्न सक्ने, नगरपालिका आफैले स्वयंसेवक शिक्षक नियुक्त गर्न सक्ने, आधारभूत शिक्षा उर्तिण परीक्षा नगरपालिकाले सञ्चालन गर्न सक्ने, विद्यालय खोल्न, कक्षा थप गर्न, नाम परिवर्तन गर्न, सार्न, गाभ्न, समायोजन गर्न, कक्षा वा तह घटाउन वा बन्द गर्न सक्ने उल्लेख छ ।

यसैगरी नगरपालिकाले सामुदायिक विद्यालय र सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरुबीच साझेदारीमा विद्यालय सञ्चालन गराउन सक्ने, नगरपालिका आफैले विद्यालय स्थापना एवं सञ्चालन गर्न सक्ने, विद्यालय शाखा खोल्ने, नगरपालिकाले तालिम केन्द्र तथा प्राविधिक शिक्षा सञ्चालन गर्ने जस्ता विषय उल्लेख गरिएको छ । नगरप्रमुख थापाले आफूहरु निर्वाचित भएर आएपछि निरन्तर निगरानी गर्दा सामुदायिक विद्यालयको शिक्षामा गुणात्मक रुपमा सुधार आएको दावी गरेका छन् ।

सर्लाही जिल्लामै स्थानीय तहले पहिलो पटक सार्वजनिक गरेको नगर शिक्षा ऐन सार्वजनिक समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेतीले बागमती नगरपालिकाले शिक्षा र अन्य क्षेत्रमा गरिरहेको सुधार प्रशङ्सनीय रहेको बताए । प्रदेश सभा सदस्य उपे्रतीले नगर शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन हुन सके बागमती नगरपालिका देशमै नमूना बन्ने बताए ।

कार्यक्रममा अर्का प्रदेश सभा सदस्य बेची लुंगेली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका इन्चार्ज डाचाराज वाग्ले, नेकपा नेता कमल बुढाथोकी, नेपाली काँगे्रस बागमती नगर समितिका सभापति दीपक रानाभाट, नेपाल शिक्षक महासंघ सर्लाहीका अध्यक्ष नरेन्द्रकुमार यादव लगायतले मन्तव्य राख्दै नगर शिक्षा ऐनको उपलब्धीमूलक कार्यान्वयनको शुभकामना व्यक्त गरेका छन् ।

सञ्चारकर्मी श्रवण थापाको सञ्चालन एवं नगरपालिकाको शिक्षा शाखाका निमित्त प्रमुख तथा जनजागरण माध्यमिक विद्यालय बागमती नगरपालिका–८, का प्रधानाध्यापक बद्रीप्रसाद पोखरेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनता माध्यमिक विद्यालय सोल्टी र जनता माध्यमिक विद्यालय मिलन चोकका विद्यार्थीले सन्देशमूलक गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

जिल्लाको उत्तर–पश्चिम भेगमा पर्ने बागमती नगरपालिकाभित्र २६ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा अहिले सात हजार सात सयको हाराहारीमा विद्यार्थी अध्ययरत रहेका नगर उपप्रमुख लिलाकुमारी मोक्तानले जानकारी दिईन् ।