भिजिट नेपाल २०२० को अवसरमा सर्लाहीमा भारतीय पर्यटकलाई स्वागत (फोटो फिचर)

241

मलंगवा – नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार सर्लाहीको सदरमुकाम मलंगवा स्थित भारतीय नाकामा नेपालतर्फ आउने भारतीय पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ ।

भिजिट नेपाल २०२० जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा सदरमुकाम मलंगवा स्थित गोरखकाली–हनुमान मन्दिर नाकामा बुधबार बिहानै नेपाल भित्रिदै गरेका भारतीय पर्यटकलाई स्वागत एवं सम्मान गरिएको हो । एक्कासी फूलमाला र अबीर लगाएर स्वागत गर्दा भारतीय पर्यटक आश्चर्यचकित बनेका थिए । त्यस्तै सीमा क्षेत्रमा खटिएका भारतीय कर्मचारी एवं सुरक्षाकर्मीलाई समेत नेपाली टोलीले फूलामाला एवं खादा ओढाएर सम्मान गरेको थियो । बुधबार अंग्रेजी नयाँ वर्ष सन २०२० को दिन सर्लाही र रौतहटको सिमा हरिहर क्षेत्र एवं नुनथरमा पिकनिक खानका लागि सयौं भारतीय नागरिक आउने गर्दछन् ।

भारतीय पर्यटकलाई स्वागत एवं सम्मान पश्चात कुसुम होटल एण्ड पार्टी प्यालेसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । भिजिट नेपाल २०२० सर्लाही समन्वय समितिका अध्यक्ष बैकुण्ठ सापकोटाको अध्यक्षता एवं जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रभुनारायण शिवाकोटीको सञ्चालन रहेको कार्यक्रममा होटल एवं पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योञ्जनले स्वागत मन्तव्य राखेका थिए ।

आगामी दिनमा पर्यटक आगमनलाई लक्षित गर्दै विविध कार्यक्रमहरु गरिने भिजिट नेपाल २०२० सर्लाही समन्वय समितिका अध्यक्ष सापकोटाले जानकारी दिए ।