चिसो बढेपछि धमाधम विद्यालय बन्द गरिँदै

380
चिसो छल्न आगो बालेर ताप्दै गरेका सर्वसाधारण । (फाईल तस्बिर : उज्यालो अभियान)

लालबन्दी – चिसो बढेपछि सर्लाहीका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका छन् ।
जिल्लाको लालबन्दी नगरपालिका भित्रका विद्यालयमा नौं दिन बिदा दिइएको छ । अत्यधिक चिसोले गर्दा पठनपाठन सञ्चालन गर्न मुस्किल परेपछि सोमवारदेखि पुस २२ गतेसम्म नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको नगरपालिकाको शिक्षा शाखा प्रमुख बासुदेव तिमल्सिनाले जानकारी दिए ।

यस्तै हरिवन नगरपालिकाले पनि सोमवारबाट पुस २७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । क्यालेण्डर अनुसार १६ गतेबाट विदा दिने उल्लेख भएपनि अत्यधिक चिसो हुन थालेपछि दुई दिन अगाडिबाटै बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज निरौलाले बताए ।

यसैगरी ईश्वरपुर नगरपालिकाले पनि भोलीबाट १८ गतेसम्मका लागि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको नगरप्रमुख मनोजकुमार देवकोटाले बताए । अन्य स्थानीय तहहरुले पनि तत्कालै आफ्ना पालिका भित्रका विद्यालयमा जाडो बिदा दिने तयारी गरेका छन् । यस क्षेत्रमा पुस लागेदेखि सुरु भएको कठ्याङ्ग्रिदो चिसोले जनजीवन अत्यन्त कष्टकर बनिरहेको छ । स्याँठ चलेर चिसो बढ्दा बालबालिका, वृद्धबृद्धा, अशक्त र विपन्न वर्गका मानिस बढी प्रभावित भइरहेका छन् । दिउँसोपख समेत घाम लाग्न छाडेपछि अत्यावश्यक काम भएका मानिस घर बाहिर निस्कन सकेका छैनन् ।