चिनी उद्योगलाई उखु बेच्दै ऋणको भार थप्दै किसान

332

हरिवन – भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिका–२, बहादुरपुरका शशीभुषण सिंहले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा तीन आर्थिक वर्ष लगातार उखु बेचे ।
उनले उद्योगमा लगातार तीन वर्षदेखि बिक्री गरेको उखुको एक रुपियाँ पनि भुक्तानि भने पाएका छैनन् । ‘हाँमी तीन दाजुभाईले तीन वर्षदेखिको १२ लाख रुपैयाँ लिन बाँकी छ, उद्योगमा भुक्तानि माग्न जाँदा कहिल्यै पनि उद्योगी भेटिदैनन्’, सिंहले भने, ‘यो वर्षदेखि धनकौल मिलमा उखु नदिने तयारी गरेका छौँ । उखु बेचेको पैसा वर्षौसम्म नपाउँदा घर व्यवहार धान्नै मुस्किल परिसकेको छ ।’

समयमै उखुको भुक्तानि नपाउँदा किसान ऋणमा डुबेका छन् । खेतभरी लगाएको नगदे बाली उखु बिक्री गरेको पैसा नपाउँदा किसानले ऋण गरेरै व्यवहार चलाइरहेका छन् । ‘साहुको ऋण तिर्न खेत नै बेच्नु पर्ने अवस्था आएको छ’, सिंहले गुनासो गर्दै भने, ‘किसानलाई हाक्काहाक्की अन्याय गर्ने उद्योगीलाई सरकारी केही कारवाही गर्न सकेको छैन् । हामी किसान निरिह हुनु परेको छ ।’

उखुको भुक्तानि माग गर्दै किसान धनकौल चिनी उद्योगमा गएर पटक–पटक धर्नामा बसेका छन् । उद्योगीलाई बिक्री गरेको उखुको पैसा दिलाइ दिन माग गर्दै किसानले सदरमुकाम मलंगवामा पुगेर समेत प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने समेत गरे । तर भुक्तानि पाएका छैनन् । स्थानीय प्रशासनले अन्नपूर्णलाई पटक–पटक पत्र नै लेखेर किसानको भुक्तानि गर्न निर्देशन दिएको छ । तर प्रायः काठमाण्डौंमै बस्ने ती उद्योगका मालिकले प्रशासनलाई समेत टेरेका छैनन् ।

धेरैजसो बिचौलियामार्फत उखु खरिद गर्ने सो उद्योगले किसानको कति भुक्तानि गर्न बाँकी छ ? भन्ने विवरण समेत छैन् । धनकौलका उखु किसान रामविनय रायले समयमै भुक्तानि नपाउने समस्याले आफूले उखु खेतीको विकल्पमा अन्य बाली लगाउन थालेको बताए । ‘उखुलाई नगदे बाली भनिन्छ, तर तीन÷चार वर्षसम्म भुक्तानि पाइदैन’, रायले भने, ‘दुई वर्षसम्म निरन्तर पैसा नपाएपछि मैले उखुको साटो तरकारी र अन्य खेती लगाउन थालेको छु ।’

सर्लाहीमा तीन चिनी उद्योगमध्ये इन्दुशंकरले अहिलेसम्मको सम्पूर्ण भुक्तानि गरिसकेको छ भने अन्नपूर्णले तीन वर्षदेखिको र महालक्ष्मी चिनी उद्योग बगदहले गत वर्षको भुक्तानि गर्न बाँकी छ । जिल्लाका तीनमध्ये इन्दुशंकर चिनी उद्योगले केहीदिन अघिबाट उखु क्रसिङ गरेको छ भने महालक्ष्मी र अन्नपूर्ण सञ्चालनबारे अन्यौलता छ । महालक्ष्मी र अन्नपूर्णबाट पीडित किसान अहिले काठमाडौंमा पुगेर धर्ना तथा प्रदर्शनमा सहभागी भइरहेका छन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु खेती हुने तराईका सबै जिल्लाका किसानले भुक्तानिमा समस्या झेल्नु परिरहेको बताए । ‘देशभरका १४ मध्ये सर्लाहीको अन्नपूर्ण र रौतहटको श्रीराम सुगर मिल किसानको भुक्तानि दिन नसकेर यो वर्ष सञ्चालन हुने अवस्था छैन’, मैनालीले भने, ‘अन्य उद्योग भने धमाधम चल्न थालेका छन् ।’

सरकारले समेत किसानलाई गत वर्षको अनुदान रकम प्रदान गरेको छैन् । सरकारले किसानलाई अनुदान बापत प्रति क्यून्टल ६५ रुपैयाँ २८ पैसा प्रदान गर्ने निर्णय गरेको थियो । ‘किसान उद्योगीबाट मात्रै होईन्, सरकारबाट पनि पीडित बनेका छन्, यो वर्ष नयाँ उखु क्रसिङ सुरु हुने बेलासम्म सरकारले नै गत वर्षको अनुदान रकम दिएको छैन ।’ मैनालीले भने । उखु किसानप्रति सरकारको गम्भिरता नदेखिएको मैनालीको भनाई छ ।

पछिल्लो सर्बे अनुसार तराईका जिल्लाका ६० हजार हेक्टर हाराहारीमा उखु खेती हुने गरेको छ । देशभर उखु क्रसिङ गर्ने १४ वटा चिनी उद्योग छन् । सर्लाही र नवलपरासीमा तीन/तीन वटा, रौतहट र कञ्चनपुरमा दुई/दुई महोत्तरी, मोरङ, सिरहा, बारामा एक/एक वटा चिनी उद्योग रहेका छन् ।