बागमती सेवा समाजद्वारा ब्लांकेट वितरण

173
बागमती सेवा समाज नेपालले शुक्रबार वितरण गरेको ब्लांकेट बोकेका हरिपूर्वाका वृद्धवृद्धाहरु । (तस्बिर : उज्यालो अभियान)

हरिपूर्वा – सर्लाहीमा चिसोबाट अति प्रभावित ९५७ परिवारलाई जाडोमा ओड्नका लागि प्रयोग हुने ब्लांकेट शुक्रबार दिउँसो वितरण गरिएको छ ।

जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वामा ४६५, पर्सामा २५७, ईश्वरपुरमा १८५ र चन्द्रनगरमा ५० परिवारलाई ब्लांकेट वितरण गरिएको हो । वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा बागमती सेवा समाज नेपाल हरिवनद्वारा सञ्चालित नेपाल बाढी प्रतिकार्य कार्यक्रम अन्तर्गत हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा ब्लांकेट वितरण गरेको हो ।

ईश्वरपुरमा नगरपालिकासँगको समन्वयमा रुपान्तर नेपालको सहयोगमा र चन्द्रनगरमा नेपाल रेडक्रस सोसाइटीको मलंगवा शाखामार्फत कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । पर्सामा गाउँपालिका अध्यक्ष किसुनदेव रायको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बागमती सेवा समाज नेपालका गजेन्द्र साहको सञ्चालन रहेको कार्यक्रममा प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, नेपाल रेडक्रस सोसाईटीका महामन्त्री शशिभुषण सिंह (राजन), बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

हरिपूर्वामा नगरप्रमुख सियाराम राय, ईश्वरपुरमा नगरप्रमुख मनोजकुमार देवकोटा तथा चन्द्रनगरमा गाउँपालिका उपाध्यक्ष विनादेवी साहको रोहबरमा ब्लांकेट वितरण गरिएको आयोजक संस्थाहरुले बताएका छन् । कठ्याङ्ग्रिदो चिसोमा ब्लांकेट पाएपछि विपन्न परिवार खुशी भएका छन् ।

जिल्ला विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जिसीले स्थानीय तह र विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी चिसोबाट अति प्रभावित विपन्न, असहाय, दलित, एकल महिला र सीमान्तकृत परिवारलाई ओड्ने ब्लांकेट वितरण गर्ने काम भइरहेको जानकारी दिए । पुस लागेसँगै बढेको चिसोले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनिरहेको छ ।