चिसोले कठ्यांग्रिन थाले विपन्न र सुकुम्वासी

166
चिसो छल्न आगो बालेर ताप्दै गरेका सर्वसाधारण । (फाईल तस्बिर : उज्यालो अभियान)

मलंगवा – तीन दिनदेखिको कठ्यांग्रिदो चिसोले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले वुधवार एक बुलेटिन निकालेर सर्लाहीसहित तराईका जिल्लामा शीललहर सूरु भएको भन्दै सचेत रहन आग्रह गरेको छ । मंगलवारदेखि मौसममा बद्ली भई अचानक बढेको चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन् ।

जिल्लामा बाक्लो हुस्सु लागेर चिसो हावा चल्दा मानिस घर बाहिर निस्कन सकेका छैनन् । यो मौसममा काम विशेषले बाहेक घरबाहिर ननिस्कन चिकित्सकको सुझाव छ । निस्कनै परेपनि न्यानो कपडा लगाउन उनीहरुले आग्रह गरेका छन् । तराई क्षेत्रमा बिहान र बेलुकाको समयमा पानी परे झैं शीत झर्ने गरेको छ । मौसम धुम्मिएर बाक्लो हुस्सु लाग्दा जिल्लावासीले केही दिनदेखि घाम देख्न पाएका छैनन् । न्यानो कपडा नभएको र आगो ताप्न काठ दाउरा समेत उपलब्ध नरहेको क्षेत्रका विपन्न परिवार कठ्यांग्रिएरै दिनचर्या काट्न बाध्य छन् । अहिलेको जतो चिसो केही दिन लम्बिए विपन्न तथा असहाय परिवारका मानिसको मृत्यु हुने अवस्था आउने भन्दै नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

चिसोले जिल्लामा हालसम्म अप्रिय घटना भने नभएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ । अत्यधिक चिसोका कारण जिल्ला सदरमुकाम मलंगवासहित लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बयलवास, बरहथवा लगायतका मुख्य बजार र सडकमा मानिसको चहलपहल घटेको छ । विद्यालयमा विद्यार्थीको संख्या घटिरहेका शिक्षकहरुले बताएका छन्् । मजदुरलाई काममा निस्कन मुस्किल परेको छ ।

जिल्ला विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उज्यालो अभियानसँग कुरा गर्दै अचानक बढेको चिसोले आयआर्जन न्यून भएका विपन्न तथा सुकुम्वासी परिवारको दैनिकी कष्टकर बनेको बताए । उनले गाउँपालिका तथा नगरपालिकाहरुलाई चिसो प्रभावितको सुरक्षामा ध्यान दिँदै वन कार्यालयसँग समन्वय गरेर सार्वजनिक स्थलहरुमा दाउरा वितरण गर्न आग्रह गरिएको जानकारी दिए । यस सम्वन्धमा स्थानीय तहले कुनै तयारी गरेको पाइँदैन् । जानकारहरुले चिसोमा स्थानीय तह सचेत नभए जनधनको क्षति हुने भएकाले तदारुकता देखाउन आग्रह गरेका छन् ।