विद्युत प्रवाहमा समस्या

148

लालबन्दी – सर्लाहीमा विद्युत प्रवाहमा बारम्बार समस्या देखिन थालेको छ ।

रौतहटको चन्द्रनिगाहपुरबाट लामो जंगल हुँदै सर्लाहीमा तानिएको बिजुली एउटा मात्रै शव स्टेशनबाट सबैतिर वितरण गर्नुपर्दा पटक–पटक समस्या देखिन थालेको हो । चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाइनको बिजुली हरिपुर शव स्टेशन हुँदै जिल्लाभर वितरण भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सामान्य हावाहुरी र वर्षामा घण्टौं विद्युत अवरुद्ध हुने समस्याले जिल्लाबासी आजित भइरहेका छन् । शुक्रवार रातीको वर्षापछि पनि जिल्लामा बेला–बेलामा विद्युत कटौति भइरहने समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिरकुमार रायले जंगल क्षेत्र हुँदै लामो दुरीबाट बिजुली ल्याउनु पर्ने र जिल्लामा विद्युतीय संरचना जीर्ण रहेकाले विद्युत प्रवाहमा कहिलेकाँही समस्या आउने गरेको बताए ।

उनले समस्या देखिना साथ प्राविधिकलाई फिल्डमा खटाएर मर्मतको काम गर्दै आएको बताए । प्राधिकरणले सुक्रवार रातीको वर्षापछि हरिवन क्षेत्रमा केही समस्या देखिँदा बेला–बेलामा बिजुली गएको भएपनि अहिले भने मर्मतको काम सकिएकाले अब अनियमित विद्युत कटौति नहुने दावी गरेको छ ।