मन्त्री अर्यालको चेतावनी ‘न्यालय विरुद्ध जस्तोसुकै कदम उठाउन सक्छौं’

143

बरहथवा, मंसिर २९ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले जनताको पक्षमा फैसला नगरे न्यालय विरुद्ध सोच्न बाध्य हुने चेतावनी दिएकी छिन् ।

आईतबार दिउँसो सर्लाहीको बरहथवामा आयोजित ‘अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन तथा अनाधिकृत रुपमा दर्ता भएका सरकारी र सार्वजनिक जग्गा दर्ता बदर घोषणा सभा’ लाई सम्बोधन गर्दै मन्त्री अर्यालले न्यालयलाई त्यस्तो चेतावनी दिएकी हुन् ।

अव्यवस्थित बसोबासी जमिन व्यवस्थित गर्ने सवाल र अनि व्यक्तिको नाममा दर्ता भएको सरकारी, सार्वजनिक र गुठीको जमिनको दर्ता बदर गर्ने काममा न्यायलयबाट अवरोध आउन सक्ने बारेमा निकै आशंकाहरु जन्मिएको गर्दै मन्त्री अर्यालले उल्लेख गरिन् । मन्त्री अर्यालले न्यालयले आफ्नो गरिमा कायम राख्नै जनताकै पक्षमा फैसला गर्ने समेत विश्वास व्यक्त गरिन् । ‘व्यक्तिको दर्ता खारेज गर्दै सरकारी जमिन नियन्त्रणमा लिने कुरामा कतिपयले प्रश्न पनि गर्ने गरेका छन्, फेरि अदालतले फिर्ता त गर्ने हैन ?’, मन्त्री अर्यालले भनिन्, ‘तर हाँमी विश्वस्त छौं, किनकी जनता र न्यायको पक्षमा काम गरिरहेका छौं, अदालत पनि न्यायको पक्षमा उभिन्छ भन्नेमा हाँमी विश्वस्त छौं ।’

न्यालयले जनताको पक्षमा फैसला गर्दै आफ्नो गरिमा कायम राख्नेमा सरकार विश्वस्त रहेको मन्त्री अर्यालले विश्वास व्यक्त गरिन् । न्यालयले गरिमा कायम नगरि अनेकखाले फैसलाहरु गर्दै गएमा त्यसविरुद्ध सरकार जस्तोसुकै कदम उठाउन पछि नपर्ने समेत मन्त्री अर्यालले चेतावनी दिईन् ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अनाधिकृत रुपमा व्यक्तिले आफ्नो नाममा दर्ता गरेको मुलुकभरका सरकारी, सार्वजनिक एवं गुठीका जमिनको दर्ता बदर गर्ने अभियानको सर्लाहीबाटै सुरुवात गरिएको बताईन् । ‘सरकारी, सार्वजनिक र गुठीको जमिन व्यक्तिको नामबाट बदर गरी फिर्ता ल्याउने अभियान आज सर्लाहीबाट सूरु गरेका छौं, अब यो अभियान निरन्तर अगाडी बढ्ने छ’, मन्त्री अर्यालले भनिन्, ‘माघ महिना भित्र भूमि व्यवस्थापन सम्बन्धी शक्तिशाली आयोग बनाएर काम कार्बाही अगाडी बढाईने छ जसले गर्दा कतैबाट कुनै किसिमको बाधा व्यवधान नआउने निश्चित छ ।’

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सर्लाहीको बरहथवाबाट अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन तथा अनाधिकृत रुपमा दर्ता भएका सरकारी र सार्वजनिक जग्गा दर्ता बदर कार्यक्रम सूरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यतामा आईतबार बरहथवा बजारमा आयोजित कार्यक्रम बीच बरहथवा नगरपालिका अन्तर्गत अनाधिकृत रुपमा व्यक्तिले आफ्नो नाममा दर्ता गरेको १८ विगहा १५ कठ्ठा १३ धुर सरकारी जमिन कायम गरिएको घोषणा गरिएको छ भने १३ कठ्ठा जमिनको दोहोरो लगत कट्टा गरिएको छ ।

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवालीले प्रस्तुत गरेको विवरण अनुसार बरहथवा नगरपालिका अन्तर्गत ईनरदेव साह सुडीको नाममा दर्ता भएको साबिक गंगापुर सितापुर गाविस वडा नं. ८/ग स्थित कित्ता नं. ७३ को ४ विगहा २ कठ्ठा ३ धुर सरकारी जमिनमा कायम गरिएको र सुडीले नै दोहोरो दर्ता गराएको वडा नं. ८/ख स्थित कित्ता नं. १६८ को १३ कठ्ठा जमिनको दोहोरो लगत कट्टा गरिएको । त्यस्तै ज्ञवालीले प्रस्तुत गरेको विवरण अनुसार बरहथवा नगरपालिका अन्तर्गत जगदेव महतोको नाममा दर्ता भएको साविक हजरिया गाविस वडा नं. ७, कित्ता नं. ३२८ को ७ विगहा १४ कठ्ठा, सोही वडाकै कित्ता नं. २१४ को ५ विगहा १० कठ्ठा जमिनलाई नेपाल सरकारको नाममा ल्याईएको छ । त्यस्तै दिर्घमाया दर्लामी, तोता देवी दर्लामी र सोझा देवी दर्लामी समेत ३ जनाको नाममा दर्ता भएको साविक गंगापुर सितापुर गाविस स्थित वडा नं. ६/क, कित्ता नं. १४२ को १२ कठ्ठा र कित्ता नं. १४३ को १ विगहा १७ कठ्ठा १० धुर जमिन नेपाल सरकारको नाममा ल्याईएको छ । सरकारी जमिन अनाधिकृत रुपमा दर्ता गरेकाले जगदेव महतोलाई एकलाख रुपैंया एवं ईनरदेव साह सुडीलाई ५० हजार रुपैंया जरिवाना समेत गरिएको मालपोत कार्यालय बरहथवाका प्रमुख मालपोत अधिकृत गुरु भट्टले जानकारी दिए ।

बरहथबा नगरपालिका कार्यालयको आयोजना रहेको घोषणा सभा मेयर देवानन्द महतोको अध्यक्षतामा भएको थियो भने सभामा उपमेयर सीतादेवी माझीले स्वागत गरेकी थिईन् । महेश बरालको सञ्चालन रहेको कार्यक्रममा नेकपाका नेताहरु प्रल्लाद बुढाथोकी, अच्युतम काफ्ले, लक्ष्मण पौडेल, रविन्द्र वैठा, डाचाराज वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।

‘मर्न पनि तयार छौं’

त्यसअघि नेकपा सर्लाहीले बरहथवा स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको ‘सर्लाहीमा भूमि सम्बन्धी समस्या र समाधानको लागि अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपालको सीमा मिचिएको भूमि फिर्ता ल्याउनका लागि आफूहरु मर्न पनि तयार रहेको बताएकी छिन् । कम्युनिष्ट पार्टीको झण्डा भनेको राष्ट्रवादको प्रतिक भएको दाबी गर्दै मन्त्री अर्यालले कम्युनिष्ट राजनीति गरेका र देश एवं जनताका लागि अनवरत लडिरहेका नेताहरु नेतृत्वको वर्तमान सरकारले मिचिएको सीमा फिर्ता लिएरै छाड्ने दावी गरिन् ।

‘तपाईहरु ढुक्क हुनोस्, सरकारले भारतद्वारा मिचिएको जमिन यो सरकारले फिर्ता ल्याएरै छाड्छ’, मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गरिन्, ‘राष्ट्रियताका लागि हाँमी सरकारमा रहेकाहरु मर्न पनि तयार छौं ।’

मिचिएको भूमि फिर्ता ल्याउने कार्यलाई वर्तमान सरकारले अवसरको रुपमा लिएको समेत मन्त्री अर्यालको भनाई थियो । ‘सुगैली सन्धीदेखिको यो समस्या २०३ वर्ष अघीबाटै हो, तर हिजोका शासकहरुले के हेरेर बसे अनि समस्या समाधानमा किन पहल गरेनन् भन्नेतर्फ हाँमी जाँदैनौं’, मन्त्री अर्यालको जिकिर थियो, ‘राष्ट्रियतासँग जोडिएको यो समस्या समाधान गर्ने कार्यलाई बरु अवसरको रुपमा लिँदै यो सरकारले गम्भिरताका साथ टुंग्याएर छाड्ने म तपाईंहरुलाई प्रतिबद्धता जनाउन चाहन्छु ।’

कुटनैतिक ढंगबाट वार्ता र सम्बादको माध्यमले भारत सरकारसँग सिमा अतिक्रमणको विषयमा कुरा भईरहेको र केही समय लागेपनि दिर्घकालिन रुपमा सीमा अतिक्रमणको मुद्धा टुंग्याईंने उनको दाबी थियो । नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा बरहथवा क्षेत्रको अव्यवस्थित जमिन एवं दोहोरो लालपूर्जा लगायत समस्या बारे नेकपाका नेता हरि उप्रेतीले लिखित विवरण पढेर सुनाएका थिए । कार्यक्रममा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण नेपालकी स्रोत व्यक्ति पार्वती विश्वकर्माले मन्त्री अर्याललाई मायाँको चिनो प्रदान गरेकी थिईन् । बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले स्वागत गरेका थिए ।