पेट पाल्न ‘निकृष्ट’ श्रम गर्दै कलिला बालबालिका

186
सदरमुकाम मलंगवामा प्लाष्टिकका सामान संकलन गर्दै हिँडेका बालक । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – जिल्लामा कलिलै उमेरका बालबालिका पेट पाल्नकै लागि ‘निकृष्ट’ श्रम गर्न बाध्य छन् ।

थोत्रा सामान संकलन गर्ने, सवारीको सहचालक बस्ने, होटल तथा रेष्टुरेन्टमा भाँडा माझ्ने तथा टेबलु पुछ्ने जस्ता काममा बालबालिकाको प्रयोग भइरहेको छ । सदरमुकाम मलंगवामै खुलेयाम रुपमा यस्ता काममा बालबालिकाको प्रयोग भइरहेको स्थानीय वासिन्दाले बताएका छन् । यस्तै बरहथवा, बयलवाससहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रका लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बागमती बजारमा पनि बाल मजदुरको प्रयोग भइरहेको छ ।

स्थानीय तह, जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले बाल श्रम मुक्त गर्न अभियान सञ्चालन गरे पनि प्रभावकारी देखिएको छैन् । सदरमुकाम मलंगवा निवासी नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले गाँसबासको व्यवस्था नहुञ्जेल बालश्रम मुक्त गर्न सम्भव नरहेको बताए ।

‘धेरै बालबालिका भोकप्यास मेट्नकै लागि श्रम गर्न बाध्य छन्, समाजका बुज्रुक भनिएकै व्यक्तिबाट बाल श्रमिक प्रयोग भइरहेको छ’, झाले भने, ‘नियमित प्रभावकारी किसिमले अनुगमन नहुँदा पनि होटल तथा व्यापार व्यवसायमा बालबालिकालाई श्रममा लगाइएको छ ।’

सर्लाहीमा पछिल्लो पटक बाल श्रमको अवस्था बारे अनुगमन समेत हुन सकेको छैन् । स्थानीय तहले यस तर्फ खासै ध्यान दिएका छैनन् । जिल्लाका अधिकांश इँटा भट्टामा अभिभावकसँगै उनीहरुका छोराछोरी श्रम गरिरहेका देखिन्छ । बाल श्रमिकको रुपमा कार्यरत त्यस्ता बालबालिका विद्यालय समेत जाँदैनन् । उनीहरुले शिक्षाको ज्योतिबाट बञ्चित छन् ।

सर्लाही ईश्वरपुर निवासी पूर्व प्रधानाध्यापक विन्देश्वर सिंहले नियमक निकाय र तीनका प्रतिनिधि रहने जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरुमै बाल श्रमिकको व्यापक प्रयोग भइरहेको बताए । उनी बाल श्रम उन्मुलन गर्न अब स्थानीय तह नै अग्रसर हुनुपर्ने तर्क गर्छन् । ‘यस्ता विषयमा जनप्रतिनिधि गम्भीर हुनुपर्ने हो तर त्यस्तो पाइदैन’, सिंहले भने, ‘जिम्मेवार व्यक्ति र निकायबाट चासो नहुँदा नै बाल श्रमिकको संख्या बढिरहेको छ ।’

बालबालिकाको क्षेत्रमा कार्यरत बाल संरक्षण संस्था लालबन्दीकी अध्यक्ष राधा घिमिरेले आफूहरु नै खाना नास्ता खान होटलमा जाँदा र सवारीमा यात्रा गर्दा बाल मजदुर प्रयोग भइरहेको पाएको बताईन् । ‘होटलमा गयो कलिला बालबालिका टेबुल पुछिरहेका भेटिन्छन्, गाडी चढ्यो बालकहरु नै भाडा उठाउन आउँछन्’, घिमिरेले भनिन्, ‘गरिबी र अशिक्षाकै कारण बालबालिका श्रमिकका रुपमा प्रयोग भइरहेको देखिन्छ ।’

सर्लाहीमा कति संख्यामा बाल श्रमिक छन् भन्ने एकिन तथ्यांक कुनै पनि निकायसँग छैन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला बाल कल्याण समिति स्थानीय तह कार्यान्वयनमा आएपछि निष्क्रिय अवस्थामा रहेको छ । समितिले बाल श्रम उन्मुलन गर्न पछिल्लो समय अनुगमन तथा कारवाहीको कार्य समेत गरेको छैन् । केही वर्ष अघि जिल्ला बाल कल्याण समितिले सदरमुकाम मलंगवाबाट बाल श्रम उन्मुलन गर्न अनुगमन सुरु गरेपनि त्यसले निरन्तरता नपाउँदा बाल अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।