ईश्वरपुर मेयरप्रति कांग्रेस र राजपा असन्तुष्ट

85
(फाईल तस्बिर)

ईश्वरपुर – नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिकाका प्रमुखको कार्य शैली प्रति असन्तुष्टि व्यक्त गरेको छ ।

ती दुई पार्टीले नगरप्रमुख मनोज देवकोटा एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै आईतबारबाट नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गर्ने भएका छन् । यस बारेमा शनिबार स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराइएको ती दुवै पार्टीका नेताहरुले बताएका छन् । कांग्रेस र राजपाले गत वर्षको हरहिसाब सार्वजनिक गर्नुपर्ने, नगर परिषद् चाँडो बोलाउनुपर्ने, टिप्पणी आदेशमा नगरप्रमुखको नभई जिम्मेवार कर्मचारीको आदेश हुनुपर्ने, कृषिको बजेट विनियोजन गर्नुपर्ने, अमानतमा नभई ठेक्का लगाएर खोला नालाको उत्खनन् हुनुपर्ने जस्ता माग अघि सारेका छन् । ती मागमा सम्वन्धमा एक हप्ता अघिनै नगरप्रमुखलाई जानकारी गराएपनि बेवास्ता गरिएको आरोप लगाइएको छ ।

यता ईश्वरपुर नगरपालिकाका मेयर देवकोटाले आन्दोलन भन्दा पनि वार्ता र छलफलबाट समस्याको निकास खोज्न आग्रह गरेका छन् । उनले कसैलाई पनि काँखापाखा नगरिएको भन्दै आफू कानुन अनुसार नै अघि बढेको दाबी गरे । नगरप्रमुख देवकोटाले विकास र समृद्धिको कार्यमा विरोध नभई सहयोग गर्न पनि आग्रह गरेका छन् ।