‘जापान र युरोपमा पनि रोजगारी खोल्छौं’ – मन्त्री यादव

157

हरिवन – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले नेपालीहरुको लागि निकट भविष्यमै जापान र युरोपका लागि रोजगारीको अवसर श्रृजना गर्ने बताएका छन् ।

आप्रवासी कामदार दिवस २०१९ को अवसरमा गृह जिल्ला अन्तर्गत हरिवन स्थित सम्राट होलटको पार्टी प्यालेसमा आयोजित ‘विदेशबाट आएको विप्रेशणको उत्पादनमुलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रम उद्घाटन् गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीका जापान सहित युरेपेली युनियनमा आवद्ध देशहरुमा समेत रोजगारीको अवसर श्रृजना गर्न पहल भईरहेको जानकारी दिए । ‘नेपालीले खाडी मुलुकमा मात्र परिश्रम बगाउने हैन अब सीप र दक्षता अनुसार जापान तथा युरेपेली मुलुकमा समेत काम गर्न पाउनुपर्छ भन्नेमा हामी लागि परेका छौं’, मन्त्री यादवले भने, ‘विकसित मुलुकमा वैदेशिक रोजगारीका अवसर श्रृजना गर्न सकिए मुलुकलाई निकै फाईदा पुग्ने निश्चित छ ।’

वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रकमलाई उत्पादनशिल क्षेत्रमा सदुपयोग गराउन सके मुलुकको आर्थिक समृद्धिमा निकै टेवा पुग्ने उल्लेख गर्दै मन्त्री यादवले त्यसतर्फ सबै पक्ष, तह र तप्कालाई ध्यान दिन आग्रह गरे ।

त्यस्तै मन्त्री यादवले सीप हाँसिल गर्दै दक्ष बनेर मात्र वैदेशिक रोजगारीमा जान पनि आग्रह गरेका छन् । ‘जुन कामको लागि जाने हो, सोही अनुसारको सीप हाँसिल गर्नुस्’, मन्त्री यादवले आग्रह गरे, ‘अनि मात्र त्यसतर्फ लाग्नोस् ।’ कामका लागि जुन देशमा जाने हो उक्त देशको भाषा तथा कानूनी व्यवस्थाका आधारभूत जानकारी लिन समेत उनले आग्रह गरेका छन् ।

वैदेशिक रोजगारीमा जानेहरुका लागि निःशुल्क रुपमा सीप सिकाउनका लागि सरकारले ७ वटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने तयारी गरिरहेको मन्त्री यादवले जानकारी दिए । हाल केन्द्रमा मात्र रहेको निःशुल्क तालिम केन्द्रलाई अब ७ वटै प्रदेशमा विकेन्द्रीकरण गरेर सेवा विस्तार गर्ने योजना मन्त्रालयको रहेको उनले सुनाए ।

त्यसैगरी मन्त्री यादवले नेपालबाट जाने श्रमिकले अन्य देशका श्रमिकको तुलनामा नेपाली निकै कम पारिश्रमिक पाईरहेकोले उक्त समस्या समाधानका लागि प्रयास भईरहेको बताए । समान काम गर्दा अन्य देशका श्रमिक सरह नै नेपाली श्रमिकले पनि पारिश्रमिक पाउनुपर्छ भन्ने विषयमा सम्बन्धित देशहरुसँग कुराकानी भईरहेको उनको दाबी थियो ।

कार्यक्रममा बोल्दै प्रदेश २ सरकारका उद्योग, पर्यटन वन तथा वातारण राज्य मन्त्री सुरेश मण्डलले वैदेशिक रोजगारीबाट नेपाल भित्रिएको पैसाले मुलुकलाई निकै टेवा पुगेको बताए । ‘जिविका धान्नै नसक्ने परिवारका सदस्य वैदेशिक रोजगारीमा गएको र आएको पैसाले बालबच्चालाई शिक्षा दिक्षा दिन थालेका छन्’, उनले भने, ‘ती बालबालिका शिक्षित हुँदा पक्कैपनि भावि दिनमा मुलुकलाई निकै फलदायी हुने मेरो विश्वास छ ।’

हेल्भेटास नेपालको आर्थिक एवं प्राविधिक सहयोग रहेको कार्यक्रम सहयोगी समाज नेपाल तथा स्वाबलम्न केन्द्रले संयुक्त रुपमा आयोजना गरेका हुन् । आयोजक संस्थाका अध्यक्ष केशव थापाको अध्यक्षता रहेको कार्यक्रममा आयोजक संस्थाको तर्फबाट प्रस्तुत गरिएको तथ्यांक अनुसार नेपाल भित्रिने विप्रेषणको १.१ प्रतिशत मात्र उत्पादनशिल क्षेत्रमा खर्च भईरहेको र बाँकी रकम घरघडेरी तथा विलासि प्रयोगमा खर्च भईरहेको उल्लेख छ । आयोजक संस्थाका हरि थापाले सहजीकरण गरेको कार्यक्रममा कार्यक्रममा दुई नं. प्रदेश भित्रका ८ वटै जिल्लाका वितिय संस्थाका प्रतिनिधि, उद्योगी व्यापारी, वैदेशिक रोजगारीबाट फर्केर अन्य व्यवसाय गरिरहेकाहरु तथा वैदेशिक रोजगारीमा रहिरहेका परिवारको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, नेकपाका नेता कमल बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।