शिवको मूर्ती बनाउन छ लाख उठ्यो

हरिवन – हरिवन नगरपालिका–४ स्थित गणेशस्थान मन्दिर प्रांगणमा विहिबार सम्पन्न सप्ताह ज्ञान महायज्ञमा ६ लाख रुपैंया आर्थिक सहयोग संकलन भएको छ ।

मन्दिर परिसरमा रहेको पोखरी भित्र जट्टाबाट पानीको फोहोरा खसालीरहेको महादेवको मूर्ती निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न सप्ताह आयोजना गरिएको मूल आयोजक समितिका दिपक दाहालले जानकारी दिए । सप्ताह मूल आयोजक समितिका अध्यक्ष केशव थापाको अध्यक्षता एवं श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतित्यथामा भव्य समारोह आयोजन गरेर विहिबार दिउँसो महायज्ञको समापन गरिएको हो ।

समापन कार्यक्रममा संम्बोधन गर्दै मन्त्री यादवले धार्मिक एवं पर्यटकीय स्थलको रुपमा रहेका गणेशस्थान मन्दिरको स्तरोन्नतीका लागि यथाशक्य सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘मैले पहिला पनि यस ठाउँलाई सहयोग गर्दै आएको छु’, मन्त्री यादवले भने, ‘भविष्यमा पनि यथाशक्य सहयोग गर्नेछु ।

दिपेन्द्र तिमल्सिनाको सञ्चालन एवं दिपक दाहालले स्वागत गरेको समापन समारोहमा नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले, प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, स्थानीय युवाको तर्फबाट केदार बस्नेत सहित विभिन्न राजनैतिक दलका नेता, समाजसेवी लगायतले मन्तव्य राखेका थिए । सप्ताहमा सबै भन्दा बढी हरिवन नगरपालिका–८ बेताली निवासी महन्त खडक गिरीले २८ हजार एक सय ५१ रुपैया दान गरेको आयोजक समितिले जनाएको छ ।

सप्ताह सफल रुपले सम्पन्न गर्नका लागि अहोरात्र खटिने सहित सहयोग प्रदान गर्ने महानुभावलाई आयोजक समितिले कदर पत्र र दोसल्ला सहित सम्मान गरको थियो । समापन कार्यक्रममा श्रद्धालु भक्तजनहरुको उलेख्य सहभागिता रहेको थियो । सप्ताह ज्ञान महायज्ञ यहि मंसिर १९ गत्ते देखी सुरु भएको थियो ।