परदेशी पीडितले गरे एसपीलाई सम्मान

201
एसपी भट्टराईलाई सम्मान गर्दै परदेशी पीडित महिलाहरु । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)

लालबन्दी – मिटरब्याजी आरोपी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारबाट ऋण पीडितहरुले सरुवा भएर जान लागेका सर्लाही प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईलाई सम्मान गरेका छन् ।

सोमवार साँझ लालबन्दी नगरपालिका–४, भैरवपुरमा पीडितहरुले एसपी भट्टराईलाई मायाको चिनो प्रदान गरी फूलमाला र अविर पहिर्याएर सम्मान गरेका हुन् । श्याम परदेशी पीडित संघर्ष समितिकी संयोजक रुक्मिणी चौधरीले एसपी भट्टराईले आफूहरुलाई न्याय दिलाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताईन् । एसपी भट्टराई आफूहरुका लागि भगवान नै भएर प्रस्तु भएको पीडितले बताएका छन् । वर्षौदेखि मिटर ब्याजमा ऋण प्रवाह गरेर अनेक किसिमको शोषण गर्ने परदेशीको दादागिरी र अन्याय अन्त्य गर्न एसपी भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पीडितले एसपी भट्टराईप्रति धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा पीडितहरुले हर्षको आँशु झारेका थिए । भैरवपुरमा मात्रै परदेशीबाट ३०/३५ घरधुरी पीडित छन् ।

पाँच गुणासम्म बढीको नक्कली तमसुक बनाएर सोझा नागरिकलाई ऋण प्रवाह गरेको आरोप लागेका परदेशीलाई गत भदौ १५ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले पक्राउ गरेको थियो । उनी हाल अदालतको आदेश अनुसार पुर्पक्षमा गौर कारगारमा छन् । सो मुद्धाको छिनोफानो हुन बाँकी छ । परदेशीले जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा गरेको पुनरावेदनमा समेत जिल्ला अदालतकै आदेश सदर भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनायो । एसपी भट्टराईले पीडितहरुको सम्मानले आफूलाई अझ बढी जिम्मेवार बनेर कर्तव्यपथमा हिँड्न प्रेरणा मिलेको बताए ।

स्थानीयका अनुसार परदेशीको आतंकले घर छाडेर अन्यत्र बस्दै आएकाहरु अहिले क्रमैसँग घर फर्किरहेका छन् । ऋण नबुझाएको भन्दै परदेशीले हाल्ने मुद्धामा अदालतले धमाधम पक्राउ पूर्जी जारी गरेपछि पक्राउ पर्ने डरले धेरै पीडितहरु केही वर्षदेखि नै घर छाडेर अन्यत्र गएर बस्ने गरेका थिए ।

परदेशीले २९९ जना ऋणी विरुद्ध जिल्ला अदालतमा लेनदेनको मुद्धा दायर गरेका थिए । त्यसमध्ये कतिपयले जेल भुक्तान गरेको तथा कतिपय भने पक्राउ पूर्जी जारी भएपछि घर छाडेर भागेका थिए ।

एसपी भट्टराईको सम्मानमा नेकपाका नेता कमल बुढाथोकी, लालबन्दी नगरपालिका–४ का वडाध्यक्ष सोमनाथ बराल लगायतको उपस्थिति थियो । १० महिना सर्लाहीको प्रहरी प्रमुख भएका एसपी भट्टराईको प्रहरी प्रधान कार्यालयको कानुन शाखामा काज सरुवा भएको छ । सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका एसपी विश्वमणि पोखरेललाई सर्लाहीको प्रहरी प्रमुखको रुपमा खटाइएको छ । नयाँ एसपी पोखरेल केही दिनमै सर्लाही आउने जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । नयाँ एसपी पोखरेल आएपछि यहाँबाट सरुवा भएका एसपी भट्टराई काठमाण्ठौं जाने बुझिएको छ ।