आगलागी पीडितलाई राहत सामग्री

586
आगलागी पीडित परिवारलाई राहत सामग्री प्रदान गर्दै बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की लगायत । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको दुई छुट्टाछुट्टै स्थानमा आगलागी घटनाका पीडितलाई आईतबार राहत सामाग्री प्रदान गरिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–१ र ५ मा का आगलागी पीडितलाई स्थानीय बागमती सेवा समाज र युथ रेड्क्रस हरिवनले संयुक्त रुपमा राहत सामग्री वितरण गरेका हुन् । शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी हुदाँ हरिवन नगरपालिका–५, घुर्कौली स्थित जाकिर अन्सारीको घर जलेर नष्ट भएको थियो भने हरिवनकै वडा नम्बर १ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर पनि केहि दिन अघि विद्युत सर्टका कारण जलेर नष्ट भएको थियो ।

आगलागीबाट घर तथा घर भित्र रहेका अनाज, लत्ता कपडा लगायत सरसामान जलेर घरबार विहिन भएका आगलागि पिडितहरुका लागि वागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीको नेतृत्व एवं स्थानिय युवाहरुको उपस्थितीमा आज विहान अग्नि पीडितद्वय अन्सारी र घिसिङको घरमै पुगि त्रिपाल, खाद्यान्न, कपडा, भाँडावर्तन, शैक्षिक सामग्री लगायत राहत स्वरुप वितरण गरिएको आयोजक संस्थाले बताएका छन् ।

यसैविच हरिवनको घुर्कौैलीमा रहेको पंच इशाका आवासिय विद्यालयका प्रधानाध्यापक रोशन लामाको पहलमा स्कुलका विधार्थीहरुको एक दिनको खाजाको पैसा छुट्याएर घुर्कौलीका अग्नीपीडित जाकिर अन्सारीलाई १ बोरा चामल, विद्यालय पोशाक ३ सेट र शैक्षिक सामाग्री प्रदान गरिएको सोहि विद्यालयका शिक्षक अजय महतोले जानकारी दिए । आगलागीबाट सर्वस्व गुमाएका पीडितहरुले सहयोग सामग्री पाउँदा निकै राहत पुगेको बताएका छन् ।