सर्लाहीमा नेपाल भ्रमण वर्ष २०२० महाअभियान सुरु

550
फोटो क्याप्सन : बैठक समापनपछि सामूहिक तस्बिर खिचाउँदै महाअभियानका अभियन्ताहरु । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर– संघीय सरकारले देशभर सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० महाअभियान सर्लाहीमा पनि सुरु भएको छ ।

सो क्रममा भ्रमण वर्षलाई प्रभावकारी बनाउन बिहिवार २१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरी पदभार ग्रहण गरिएको छ । जिल्लाको प्रमुख पर्यटकीय स्थल चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा जिल्ला समन्वय समितिका पदाधिकारीहरुको पदभार ग्रहण सम्पन्न भएको हो । होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हीरालाल गौतमको अध्यक्षता एवं नेपाल भ्रमण वर्ष महाअभियान प्रदेश २ का संयोजक मनिष झाको प्रमुख आतिथ्यतामा पद्भार ग्रहण कार्यक्रम सम्पन्न भएको होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का कोषाध्यक्ष बैकुण्ठ सापकोटाले जानकारी दिए ।

कार्यक्रममा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटा, मलंगवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतले मन्तव्य राखेका थिए । उनीहरुले जिल्लाको पर्यटकीय स्थलको प्रचार प्रसार तथा प्रवद्र्धन गर्न र पर्यटक भित्राउन जिल्ला समन्वय समितिले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समितिको पदेन सदस्यमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, मलंगवा, लालबन्दी र ईश्वरपुर नगरपालिका, सागरनाथ वन विकास परियोजना लगायतका कार्यालय सदस्य रहेका होटल तथा पर्यटन व्यवसायी महासंघ सर्लाहीका अध्यक्ष हीराकाजी योञ्जनले बताए ।

उनका अनुसार जिल्ला समन्वय समितिले अब जिल्लामा पर्यटक आगमन बढाउन रणनीति बनाएर काम गर्ने छ । बैठकमा सहभागी सबै सरोकारवालाले अभियानलाई सफल बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सहभागीहरुले आफ्नो ठाउँको पर्यटकीय सम्भावना बोकेको स्थानहरुको बारेमा जानकारी गराएका थिए । जिल्लामा थुपैै्र तालतल्लैया, मन्दिर, वन पर्यटकीय स्थलको रुपमा लुकेर रहेका सहभागीहरुले बताएका थिए । बिहिवार गठन भएको समन्वय समितिले त्यसरी लुकेर रहेका पर्यटकीय स्थलहरुको उजागर गरी पर्यटक आकर्षण गर्न पहल गर्ने छ ।