सर्लाहीको नारायण माविलाई ‘क्वीक्स्’ कपको उपाधी

171
उपाधी सहित विजेता नारायण जनता माविका खेलाडी लगायत । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको पथ्थरकोट स्थित नारायण जनता माविले अन्तर विद्यालय ‘क्वीक्स्’ कप फूटबल प्रतियोगिताको उपाधी चुमेको छ । उपाधीसँगै विद्यालयले पुरस्कार स्वरुप नगद तीन लाख रुपैंया हात पारेको छ ।

लालबन्दी नगरपालिका–१३, जियाजोर स्थित नारायण माविको टिमले पोखरा स्थित सैनिक आवासीय विद्यालयलाई ३–२ गोलले पराजित गरेको हो । विजयी टिमको तर्फबाट जर्सी नं. १० का दिलिप मोक्तान, जर्सी नं. ९ का रविन वाईबा र जर्सी नं. ५ का अभिषेक योञ्जनले एक–एक गोल गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकको रुपमा सर्लाहीका रोजित केसी पुरस्कृत भए भने उत्कृष्ट डिफेण्डर पनि सर्लाहीकै मनकबहादुर गोले घोषित भएको नारायण जनता मावि व्यवस्थापन समितिका अध्यक्ष नारायण गुर्मछानले जानकारी दिए ।

विहिबार साँझ ललितपुरको एन्फा कम्प्लेक्स सातदोबाटो स्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता रहेको थियो । देशभरबाट एकहजार ३६५ वटा विद्यालयहरुबीच भएको प्रतिष्पर्धाबाट उपाधी भिडन्तमा १६ वटा टिम छानिएको बताईएको छ । यो प्रतियोगिता माध्यमिक विद्यालय स्तरको मुलुकमै सबै भन्दा ठूलो प्रतियोगिता हो ।