गहुँ छर्ने समयमा मलको अभाव

314

लालबन्दी–गहुँ छर्ने समयमा डीएपी मलको अभाव भएपछि सर्लाहीका किसान चिन्तित भएका छन् ।

धान भित्र्याएर गहुँ लगाउने तयारीमा रहेका किसान मलको अभाव खेप्न बाध्य भएका हुन् । जिल्लाको सबै क्षेत्रमा अहिले डीएपी मल पाइएको छैन् । मल अभाव भएपछि गहुँ लगाउन नपाएको हरिपूर्वा नगरपालिका–२ का किसान उमेश यादवले बताए । गहुँ छर्न खेत खनजोत गरेर तयार पारेपनि मल नपाएको यादवले गुनासो गरे । जिल्लाको बयलवाससहितका बजारमा भने भारतीय मल नेपाली बोरामा पल्टी गरेर कालोबजारीमा धमाधम बिक्री भइरहेको पाइएको छ ।
केही किसानले त्यही भारतीय मल चर्को मूल्य तिरेर खरिद गरिरहेका छन् ।

धान खेतीको समयमा समेत सर्लाहीका किसानले मलको अभाव भोग्नु परेको थियो । कृषि सामाग्री कम्पनि लिमिटेड मलङ्गवाका प्रमुख बज्रमणि लामाले जिल्लामा अहिले डीएपी मलको अभाव रहेको स्वीकार गरेका छन् । उनले क्षेत्रीय कार्यालयबाट आगामी आइतवारसम्म मल आउने र त्यसपछि सहकारी संस्थामार्फत धमाधम वितरण गर्न सुरु गरिने जानकारी दिए ।बेला–बेलामा मल आइरहेको भएपनि माग अत्यधिक भएकाले सबै किसान समक्ष पुर्याउन नसकिएको लामाको भनाई छ ।