सोलारले काम नगर्दा अन्धकारमा

100
फोटो क्याप्सन : बिजुली नपुग्दा सोलार बत्तीको भरमा रहेको ईश्वरपुर नगरपालिका–१२, स्थित चुरेका घर । तस्बिर : उज्यालो अभियान

सर्लाही-मौसम धुम्मिएर सोलारले काम नगर्दा सर्लाहीको उत्तरी चुरेभेगका नागरिक समस्यामा परेका छन् ।

जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको केही चुरे बस्तीमा बिजुली बत्ती पुगेको छैन् । स्थानीय वाषिन्दा सामुदायिक वनले दिएको र आफैले खरिद गरेको सोलार बत्तीको भरमा छन् । केही दिनदेखि मौसम धुम्मिएर सोलारले काम गर्न छाडेपछि अन्धकारमा बस्नु परेको ईश्वरपुर नगरपालिका–१२, गुईडुङका वीरबहादुर थिङले गुनासो गरे । हुस्सु लाग्ने र मौसम धुम्मिने मौसममा चुरे भेगका वाषिन्दाले बर्सेनी यस्तो समस्या भोग्दै आएका छन् । सोलार ब्याट्री चार्ज नहुँदा चुरेवासीलाई मोवाईल चार्ज गर्न र भरपर्दो सञ्चारको माध्यम एफएम रेडियो सुन्न समेत समस्या हुन थालेको छ ।

चुरेवासी हिजोआज सञ्चार सम्पर्कबाटै बञ्चित हुनुपर्ने अवस्था आएको लालबन्दी नगरपालिका–१४, नारायणखोलाका रोशन दोङले जानकारी दिए । जिल्लाकै सबै भन्दा दुर्गम भेगमा पर्ने नारायणखोलामा चार महिना भन्दा बढी समयदेखि विद्युत् ठप्प छ । आर्थिक रुपमा विपन्न तथा सुकुम्वासीले जिल्लाको चुरे डाँडामा घर बनाएर बसोवास गरिरहेका छन् । सडक, बिजुली, खानेपानीको चरम समस्या रहेको चुरेका स्थानीय वाषिन्दा चिसोमा अन्धकारको र गर्मीमा डँढेलोको शिकार बन्नुपर्ने बाध्यता छ ।