सर्लाहीलाई यसै वर्ष साक्षर जिल्ला घोषणा गरिने

244

सर्लाही-सर्लाहीलाई यसै वर्षभित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ ।

राज्यको वर्तमान मापदण्ड अनुसार १५ वर्ष भन्दा माथिको ९५ प्रतिसत जनसंख्याले सामान्य लेखपढ गर्न सक्ने भएपछि साक्षर जिल्ला घोषणा गर्न मिल्छ । हाल सर्लाहीको साक्षरता दर ९२ प्रतिसतको हाराहारीमा छ । यसलाई बढाएर राज्यले साक्षर घोषणा गर्न तोकेको मापदण्डसम्म कसरी पु¥याउने ? भन्ने सम्वन्धमा सोमवार जिल्लाभरका पालिका प्रमुख र अन्य जनप्रतिनिधिसँग अन्तक्र्रिया गरिएको शिक्षा विकास तथा समन्वय इकाई मलंगवाका प्रमुख चेतकुमार पोखरेलले जानकारी दिए । मुलुकलाई नै यसै आर्थिक वर्ष भित्र साक्षर घोषणा गर्ने उद्देश्यसहित सरकारले अहिले हरेक नगरपालिका तथा गाउँपालिकामा १४ लाख रुपियाँका दरले बजेट पठाएको छ ।

सर्लाहीका पालिका प्रमुखहरुले यो बजेटमा आफ्नो तर्फबाट पनि केही रकम थपेर निरक्षर नागरिकलाई साक्षर बनाउन अभियान सञ्चालन गर्ने कार्यक्रममा सहमति जनाएका छन् । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा जनप्रतिनिधिसँग अन्तक्र्रिया गरी साक्षर नेपाल वर्ष २०७६ को अवधारणाका सम्वन्धमा अभिमुखीकरण समेत प्रदान गरिएको छ । सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग क्षेत्रका पालिकामा साक्षरता प्रतिसत राम्रो भएपनि दक्षिणी भेगमा कमजोर रहेको शिक्षा विकास तथा समन्वय इकाई मलंगवाले जनाएको छ ।