खड्का महिला जागरण सामुदायिक वनको अध्यक्षमा चयन

86

सन्जु कर्ण, हरिवन – वनको नेतृत्व फेरियो सर्लाहीको हरिवन नगरपालिका–९, मा रहेको महिला जागरण सामुदायिक वनको नयाँ नेतृत्व चयन भएको छ ।

वनको आइतवार सम्पन्न छैठौं वार्षिक साधारण सभाले दुई वर्षे कार्यकालका लागि रामजि खड्का अध्यक्ष रहने गरी ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । सर्वसम्मत रुपमा गठित नयाँ उपभोक्ता समितिको उपाध्यक्षमा कृष्णबहादुर बुढाथोकी, सचिवमा सावित्रा दाहाल, सह–सचिवमा पवन शर्मा, कोषाध्यक्षमा शुभद्रा भुजेल लगायत अन्य सदस्य रहेका छन् । सभाले वनमा आर्थिक हिनामिना भएको ठहर गर्दै त्यसको छानविनका लागि एक समिति समेत गठन गरेको छ ।

माधवप्रसाद दाहालको संयोजकत्वमा गठित समितिमा ऋषिराम दाहाल, हरि भुजेल र बिमला देवकोटा सदस्य छन् । वनकी अध्यक्ष सीता मैनालीको अध्यक्षता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभाको उद्घाटन सत्रमा हरिवन नगरपालिका–९, का वडाध्यक्ष सीताराम पोखरेल, जिल्ला वन कार्यालयका प्रतिनिधि मीनबहादुर चौधरी, सेक्टर वन कार्यालयका शंकर खतिवडा लगायत सहभागी भएका वनको सल्लाहकार समितिका सदस्य नारायण गौतमले जानकारी दिए ।