सर्लाहीको हरिपूर्वामा समाजवादीका श्यामबाबु विजयी

395
वडाध्यक्षमा विजयी श्यामबाबु राय । (तस्बिर : मुकेश झा)

हरिपूर्वा – उपनिर्वाचन अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा वडाध्यक्षका लागि भएको मतदान अन्तर्गत समाजवादी पार्टीका श्यामबाबु राय निर्वाचित भएका छन् ।

शनिबार राती सम्पन्न मतगणना अनुसार ३४७ मत सहित राय वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनको मुख्य प्रतिष्पर्धीमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार मोहम्मद् रोष अन्सारीले ३२८ तथा राष्ट्रिय जनता पार्टीका उम्मेद्वार राम विश्वास रायले ३२८ मत प्राप्त गरेका छन् । त्यस्तै सिके राउतको जनमत पार्टीका उम्मेद्वार दिनेश राय यादवले ५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार रामपृत पासवानले २३ मत मात्र प्राप्त गरेका छन् । शनिबार राती ९ बजे मतगणना सम्पन्न भएसँगै विजयी उम्मेद्वारलाई माला लगाएर बधाई ज्ञापन गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

एक हजार ३५६ मतदाता मध्ये एकहजार ९३ जनाले मत खसालेका थिए । मुख्य निर्वाचन अधिकृत कोइरालाले ५७५ महिला तथा ५१८ पुरुष मतदाताले मत खसालेको जानकारी दिए । वडा नं. १ को वडा कार्यालयमा रहेको मतदान स्थल अन्तर्गत दुईवटा मतदान केन्द्रमा बिहान ७ बजे बाट साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपले मतदान कार्य सम्पन्न भएको कोइरालाले बताए ।

सर्लाहीको पूर्वी–दक्षिण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–१ को वडा अध्यक्ष निर्वाचनलाई मुख्य दलहरुले प्रतिष्ठाको रुपमा लिएका थिए । शनिबार दिनभर सबै राजनैतिक दलका प्रमुख नेताहरुको मतदान स्थल आसपासमा जमघट देखिन्थ्यो । तर समाजवादी पार्टीले जितेपछि सत्ताधारी नेकपालाई ठूलो झट्का लागेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ईसाक अन्सारीको अघिल्लो वर्षको असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

सत्ताधारी नेकपाबाट पूर्व वडाध्यक्ष अन्सारीकै छोरा मोहम्मद् दोष अन्सारी उम्मेद्वार थिए भने समाजवादी पार्टीबाट श्यामबाबु राय, राष्ट्रिय जनता पार्टीबाट राम विश्वास राय, नेपाली कांग्रेसबाट रामपृत पासवान, सिके राउतको जनमत पार्टीबाट दिनेश राय यादव तथा दुई स्वतन्त्र सहित सातजना उम्मेद्वार रहेका थिए ।