‘प्रदेशको नाम जस्तै दुई नम्बरी व्यवहार भयो’

193

कविलासी (जमुनिया), मंसिर ११ – संघीय सरकारले प्रदेश दुई सरकारलाई नाम जस्तै दुई नम्बरी व्यवहार गरेको आरोप एक मन्त्रीले आरोप लगाएका हुन् ।

प्रदेश दुई सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले बुधबार सर्लाहीको कविलासी नगरपालिका–६, जमुनियामा सूरु भएको गढीमाई मेला उद्घाटन गर्दै त्यस्तो आरोप लगाएका हुन् । ‘प्रदेशको नाम पनि दुई नम्बर राखिदिने अनि व्यवार पनि दुई नम्बरी नै गर्ने काम भईरहेको छ’, मन्त्री रायले आरोप लगाए, ‘संघीय सरकारले प्रदेश दुई सरकार अनि मधेशलाई विभेद गरिरहेको छ ।’ प्रदेश दुई सरकारलाई पनि अन्य प्रदेश सरकार सरह व्यवहार गर्न पनि मन्त्री रायले संघीय सरकार समक्ष आग्रह गरेका छन् ।

प्रदेश दुई सरकार काठमाडौंको कृपाले बनेको नभई मधेश आन्दोलन अनि मधेशी जनताको बलिदानीले निर्माण भएकाले यहाँका जनता पनि नेपाली नै हुन् भन्ने भावनाका साथ व्यवहार गर्न मन्त्री रायको थप आग्रह थियो । मन्त्री रायले गाउँ–गाउँमा सिंहदरबार भनिए पनि संघीय सरकारले शासन प्रशासनको रिमोर्ट कन्ट्रोल आप्mनै हातमा राखेर प्रदेश र स्थानीय सरकारलाई जनताको सामु पंगु बनाउने काम गरिरहेको आरोप समेत लगाए ।

राष्ट्रिय वन क्षेत्र प्रदेश सरकारको मातहतमा रहने भनेर संविधानमै किटान भएपनि राष्ट्रिय वन भित्र पर्ने सागरनाथ वन विकास परियोजनालाई निगम बनाउने बहानामा संघीय सरकारले आफ्नै नियन्त्रणमा ल्याउने षडयन्त्र गरेर संघीयताको मर्ममाथि प्रहार गरेको मन्त्री रायको आरोप थियो । सागरनाथ वन विकास परियोजना प्रदेश सरकारको धरोहर अनि ढुकढुकी भएकाले संघीय सरकारको निर्णय विरुद्ध प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको र चाँडै नै अदालतबाट प्रदेश सरकारको पक्षमा फैसला आउनेमा आफूहरु विश्वस्त रहेको उनको धारणा थियो ।