चौपायको सुरक्षामा किसान

119

लालबन्दी–चिसो बढ्दै जान थालेपछि सर्लाहीका पशुपालक किसान आफूले पालेको पशु चौपायको सुरक्षामा जुटेका छन् ।

विशेष गरी जिल्लाको उत्तरी चुरेभेगका किसान चौपायलाई चिसोबाट जोगाउन गोठ घेराबेरा गर्न लागि परेका हुन् । चुरेभेगमा भैंसी, गोरु, गाई, खसीबाख्रा जस्ता चौपाय बाध्ने गोठ न्यानो बनाउन खोला किनारमा पाइने काँस र मकैको ढोडले गोठ बार्ने गरिन्छ । बस्तुभाउ पालेरै गुजारा टार्ने किसानलाई अहिले चौपाय कसरी चिसोबाट बचाउने भन्ने चिन्ता छ ।

सर्लाहीको उत्तरी भेगका कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौलीलगायतका क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन हुन्छ । त्यस भेगका किसानले गाई भैंसीको दुध र खसीबोका बेचेरै गुजारा चलाउने गर्छन् । खोला किनारको छेउछाउमा पर्ने जिल्लाको उत्तरी चुरेभेगमा बिहान र बेलुका चिसो बढ्दै गएको छ ।