सर्लाहीमा तरकारी सस्तियो

142

सर्लाही–सर्लाहीका बजारमा हरियो तरकारीको मूल्य घटेको छ ।

स्थानीय उत्पादन बजारमा प्रशस्त भित्रिन थालेपछि मूल्य घटेको हो । तरकारी उत्पादनमा देशमै प्रसिद्धी कमाएको लालबन्दी बजारमा अहिले सबैजसो हरियो तरकारी सस्तिएको छ । लालबन्दीस्थित खुद्रा तरकारी बजारमा काउली प्रतिकिलो ८० रुपियाँ, बन्दा र परबल एउटै मूल्य प्रतिकिलो ७० रुपियाँमा बिक्री भइरहेको व्यापारीले बताएका छन् । स्थानीय किसानले उत्पादन गरेको काउली, बन्दा र परबल नै अहिले बजारमा बिक्री भइरहेको छ ।

यसैगरी यहीँ उत्पादन भएको नयाँ आलु प्रतिकिलो ६० रुपियाँ, मुला प्रतिकिलो २० रुपियाँ, बोडी प्रतिकिलो ४० रुपियाँ, भ्यान्टा प्रतिकिलो ३० रुपियाँमा बिक्री भइरहेको छ । यस्तै प्याजको पत्ता २० रुपियाँ मुठा र धनीयाँको पात खुद्रा बजारमा दुई मुठाको १५ रुपियाँमा बिक्री भइरहेको छ । असार अन्तिमको भीषण वर्षापछि सर्लाहीमा पहिलो पटक तरकारीको मूल्य घटेको हो । लामो समयपछि तरकारीको मूल्य थोरै भएपनि सस्तो हुँदा उपभोक्ताले राहत महसुस गरेका छन् ।

यसैबीच छिटो उत्पादन गर्न काउली र हरियो सागपातमा अत्यधिक विषादी प्रयोग भइरहेको पाइएको छ । यसले गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सचेत हुन चिकित्सकले किसान र उपभोक्तालाई आग्रह गरेका छन् ।