‘मलाई बचाउनोस्, डाक्टर बनेर दिनदुःखीको सेवा गर्छु’

724

वोनम्यारो पीडित दिपकराज गिरीको याचना

टंक क्षेत्री/अच्युतम सापकोटा/घनश्याम बलम्पाकी/श्रवण थापा,

सर्लाही – ‘कृपया मलाई बचाउनोस्, म भविष्यमा ठूलो डाक्टर बनेर गरिब अनि दिनदुःखीको सर्वसुलभ उपचार गर्न चाहन्छु ।’ यो भनाई हो, महोत्तरी जिल्ला बर्दीबास नगरपालिका–१० चेरु भक्तिपुर घर भई हाल सर्लाहीको बरहथवा नगरपालिका–४, हजरिया स्थित मावली घरमा शरण लिईरहेका दिपकराज गिरीको । शरिरमा रगत बनाउने ‘बोनम्यारो’ भन्ने तन्तुले काम नगर्दा १५ वर्षीय दिपकराज उपचार अभावले चार वर्षदेखि जिवन मरणको दोसाँधमा छन् ।

दिपकराजकै आग्रहमा उनका बुबा–आमा सहित सम्पूर्ण परिवार बरहथवा स्थित मावली घरमा शरण लिएर बसेका छन् । ‘मेरो पढाई राम्रो छ, के गर्नु एक्कासी बिरामी परेर पढाई छुट्यो’, गत आईतबार उज्यालो अभियान दैनिकको टिमसँग आशातित मुहारमा दिपकराजले भने, ‘मेरो उपचारका लागि अभिभावकसँग पैसा पनि छैन, मनकारी दाताहरुले सहयोग गरे उपचार पश्चात म पुनः पढाईलाई अगाडी बढाउँदै ठूलो डाक्टर बनेर गरिब एवं दिनदुःखीहरुको उपचारमा लाग्ने लक्ष्य लिएको छु ।’

अति विपन्न आर्थिक अवस्था भएकाले उपचार हुन नसकेपछि बिरामी दिपकराज मात्र हैन उनका अभिभावक समेत छोराको यथाशक्य छिटो उपचार गराउन नपाउँदा छट्पटाईरहेका छन् । चार वर्ष अगाडी जण्डिस भनेर अस्पतालमा उपचारका लागि भर्ना गर्दा दिपकराजको बोनम्यारोले काम नगरेको भनेर थाहा भएको उनकी आमा लोकमाया गिरीले बताईन् । ‘जण्डीस् देखिएपछि अस्पतालमा भर्ना ग¥र्यौ, वीरगंज, काठमाडौ हुँदै भारतको दिल्लीसम्मका धेरै अस्पतालहरु दौडाएपछि बल्ल वोनम्यारोले काम नगरेको भन्ने डाक्टरहरुबाट थाहा पायौं’, लोकमायाले गहभरी आँसु पार्दै भनिन्, ‘बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ रे त्यो गर्न त निकै महंगो खर्च लाग्ने भएपछि चार वर्षदेखि १५–२० दिनमा रगत चढाउँदै आएका छौं, यति गर्दा पनि थुप्रै ऋण पनि लागिसक्यो, अब त उपचार गर्न कुनै उपाय छैन अनि अहिले गाउँघरमा चन्दा सहयोग उठाउँदै उसलाई रगत चढाउँदै गरिरहेका छौं ।’

दिपकराजका बुबा वेदराज गिरी र आमा लोकमाया वीरगंजमा भाडामा बसेर सामान्य मजदुरी गर्दै आएका थिए । लोकमायाका अनुसार वीरगंजकै बसपार्क स्थित सानो होटलमा वेदराज कुकको काम गर्थे भने उनीचाँही मुरलीचोक स्थित सगरमाथा बोर्डिङ स्कूलमा सफाई मजदुरको काम गर्थिन् । जेठा छोरा दिपकराज र कान्छा छोरा दिनेश लोकमायाले काम गर्ने स्कूलमै निःशुल्क पढ्दै आएका थिए ।

तर दिपकराज एक्कासी बिरामी भएपछि चार वर्षयता उक्त परिवारको विचल्ली भएको छ । बिरामीलाई उपचारमा दौडाउँदा दौडाउँदै दिपकराजका बुबा वेदराज र आमा लोकमायाको रोजगारी गुमेको मात्र छैन, दुःख–सुख दुई छोरालाई पढाएर जागिर खुवाउँदै सुखको जिवन जिउने परिकल्पना गरेका वेदराज दम्पती यतिखेर जेठा छोरा दिपकराजको उपचारको जोहो गर्दैमा लखतरान भएको छ । बिरामी भएसँगै ६ कक्षामा पढ्दै गरेका दिपकराजको अध्ययन पनि छुटेको छ ।

आईतबार संचारकर्मीहरु घरमा पुग्दा दिपकराजकी हजुरआमा मनमाया गिरी धरधरी रोईरहेकी थिईन् । ‘के गर्नु यो नातीले बिरामी हुने वितिकै हजुरआमाको घर जाउँ भनेछ’, दिपकराजलाई देखाउँदै मनमाया भक्कानिन्, ‘हाँम्रो पनि नातीलाई उपचार गराउन सक्ने क्षमता छैन, छोरी ज्वाईंको त सबै सकिईसक्यो, अब कसरी नातीको उपचार गराउने होला, ठूलो विलखबन्दमा परेका छौं ।’

रगत चढाउन दुई दिनमात्र ढिला भए दिपकराजलाई आईसीयुमै राखेर उपचार गराउनु पर्ने मनमायाले बताईन् । ‘रगत चढाउन दुई दिनमात्र ढिला भए आईसीयुमै राखेर उपचार गराउनु पर्छ’, उनले भनिन्, ‘पैसा अभावमा रगत चढाउन ढिला हुँदा तीन पटक आईसीयुमै राखेर उपचार गराउनु परो अनि लाखौं रुपैंया ऋण लागिसक्यो, अहिले त छेउछाउमा लाग्ने बजारका दिन अनि गाउँघरमा सय पचास चन्दा सहयोग माग्दै नातीको उपचार गराईरहेका छौं ।’

छोराको रोग पुरै ठिक पार्न भारतको दिल्ली स्थित अस्पतालले सात लाख भारतीय रुपैंया तथा नेपालको अल्का अस्पतालले भने २६ लाख रुपैंया लाग्ने बताएको वेदराजले बताए । ‘चारवर्ष देखि अस्पतालहरुमा कुदाउँदा कुदाउँदै र निरन्तर रगत चढाउन मात्रै अहिलेसम्म आठ लाख रुपैंया सकियोे’, वेदराजले दुःखेसो पोखे, ‘अब बेच्नलाई जग्गा जमिन पनि छैन, ऋण पनि थुप्रै भईसक्यो, अब त छोरालाई कसरी ठिक पार्ने होला भन्ने ठूलो पिर आईलागेको छ ।’

वोनम्यारो पीडित दिपकराज गिरीको याचना