समृद्धि साकोसको मुनाफा साँढे ३६ लाख

फोटो क्याप्सन : कार्यक्रममा ज्येष्ठ नागरिकलाई टेक्ने लौरो प्रदान गर्दै प्रमुख अतिथि नारायणकाजी श्रेष्ठ । (तस्बिर : अच्युत कुमार सापकोटा/उज्यालो अभियान)

हरिवन – समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवनले गएको आर्थिक वर्ष २०७५/०७६ मा ३६ लाख ६० हजार आठ रुपैंया खुद मुनाफा गरेको छ ।

आईतबार हरिवन बजार स्थित संस्थाको आप्mनै जमिनमा सम्पन्न १२ औं वार्षिक साधारण सभामा पेश गरिएको लेखा परिक्षण प्रतिवेदन अनुसार समृद्धिले गएको आर्थिक वर्षमा त्यति मुनाफा कमाएको हो । संस्थाले गत आर्थिक वर्षमा १२ करोड आठ लाख ७० हजार ७४७ रुपैंयाको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । १२ वर्षअघि स्थापना भएको संस्थामा हाल ६११ महिला, ६२६ पुरुष तथा २२ संस्थागत गरी जम्मा एक हजार २५९ जना शेयर सदस्य रहेका छन् । गत आवमा संस्थाले छ करोड ३२ लाख २० हजार ९०४ रुपैंया ऋण लगानी गरेको थियो भने चालु आवमा हालसम्म सात करोड ३६ लाख ४६ हजार रुपैंया लगानी भईसकेको प्रतिवेदनमा उल्लेख छ ।

उद्घाटन समारोहमा संस्थाका ज्येष्ठ सदस्यहरुलाई समृद्धिको सहारा स्वरुप टेक्ने लौरो प्रदान गरिएको थियो भने उत्कृष्ट काम गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष ईन्द्र पाठकको अध्यक्षता रहेको उद्घाटन समारोहमा सत्ताधारी नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष रोमलाल गिरी, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं, कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द राय यादव, कांग्रेस हरिवन उपसभापति डाकुरनाथ खतिवडा, बचत तथा ऋण सहकारी संघका सर्लाही अध्यक्ष बाबुराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

ताराराज पन्तले सञ्चालन गरेको कार्यक्रममा नेकपाका केन्द्रीय नेता प्रल्लाद बुढाथोकी, डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, नेतृ रञ्जना सरकार, कमल बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।