मेलालाई शान्तिपूर्ण बनाउने निर्णय

158

सर्लाही–मङ्सिर ११ गतेदेखि सर्लाहीको कविलासी नगरपालिका–६, जमुनियाँमा सुरु हुन लागेको गढिमाई मेलाको सुरक्षा व्यवस्थाका सम्वन्धमा शनिवार छलफल गरिएको छ ।

कविलासी नगरपालिकाका मेयर कौशल किशोर राय यादव, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतको उपस्थितिमा मेलालाई कसरी शान्तपूर्वक सम्पन्न गर्ने ? भन्ने सम्वन्धमा छलफल गरिएको हो । जमुनियाँस्थित गढिमाई मन्दिर परिसरमै आयोजित छलफलमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, मेला समितिका पदाधिकारी र स्थानीय अगुवाको पनि उपस्थिति थियो । छलफलमा मेलालाई विवादरहित बनाउने कुरामा सबै पक्ष सहमत भएका स्थानीय सञ्चारकर्मी रामगोबिन्द यादवले जानकारी दिए ।

गढिमाई मेलाको उद्घाटनका अवसरमा ११ गते भव्य कलश यात्रा निकाल्ने तयारी भइरहेको छ । सोही दिन प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय यादवले मेलाको उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । पाँच–पाँच वर्षमा लाग्ने गढिमाई मेलामा सर्लाहीसहित छिमेकी जिल्ला र भारतबाट समेत सर्वसाधारण आउने गरेका छन् । मेलामा ठूलो संख्यामा पशु बली दिने गरिएको छ । यस वर्ष पनि मेलामा सयौंको संख्यामा राँगा र बोकाको बली दिने तयारी भइरहेको छ । तर स्थानीय मानव अधिकारवादीहरुले भने यसलाई रोक्नु पर्ने माग गरेका छन् । शविनारको छलफलमा समेत पशु बलीका सम्वन्धमा छलफल भएको थियो ।