बाइस सयको निःशुल्क आँखा उपचार

138

सर्लाही–सर्लाही र रौतहटको विभिन्न स्थानमा सम्पन्न निःशुल्क आँखा परीक्षण शिविरमा ठूलो सङ्ख्यामा सर्वसाधारणको आँखा परीक्षण गरिएको छ ।

भरतपुर आँखा अस्पताल चितवनले स्थानीय विभिन्न सङ्घसङ्स्थासँग समन्वय गरी मङ्सिर २ गतेदेखि ६ गतेसम्म सञ्चालन गरेको शिविरमा दुई हजार १९४ जनाको निःशुल्क आँखा परीक्षण गरिएको हो । शिविरमा फेला परेका २५९ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया समेत निःशुल्क गरिएको भरतपुर आँखा अस्पतालका नेत्र अधिकृत रमेश घिमिरले जानकारी दिए । सर्लाहीको ईश्वरपुर, हरिवन र कविलासी तथा रौतहटको पौराहीमा आँखा परीक्षण शिविर आयोजना गरिएको थियो । चारै स्थानको शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीलाई सर्लाहीको सुकेपोखरीमा भेला पारेर शल्यक्रिया गरिएको घिमिरले बताए ।

शिविरमा निःशुल्क रुपमा आँखाको परीक्षण, मोतिया बिन्दुको शल्यक्रिया र आँखाको अन्य समस्याको औषधोपचार गराउन पाउँदा विपन्न परिवारका नागरिकले राहत महसुस गरेका छन् । यसैबीच हरिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शनिवार सम्पन्न एक दिने निःशुल्क आँखा परीक्षण शिविरमा २४४ जनाको आँखा परीक्षण गरिएको छ । शिविरमा फेला परेका ५० जना मोतिया बिन्दुका बिरामीलाई सगरमाथा आँखा अस्पतालको मलंगवास्थित शाखामा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक वुद्धदेव चौधरीले बताए ।