‘पुरुषसँगै खटिएर मजदुरी गर्छन महिला, तर समान ज्याला पाउँदैनन्’

सर्लाही–घर निर्माणको काममा मजदुरी गर्ने हरिपुर नगरपालिका–७, चिताइनकी सुनिता महतो पुरुष कामदारले गर्ने जस्तै काम गर्छिन् ।

ठेकेदारले उहाँलाई पुरुष कामदारलाई जे काम लगाएका छन् त्यही काम लगाउँछन् । तर ज्याला लिने बेला महतोले पुरुष कामदार सरह ज्याला पाउँदिनन् । उही प्रकारको काम गर्नुपर्ने तर ज्याला पाउने बेला पुरुषको भन्दा कम ज्याला हात पर्दा महतोको चित्त दुख्छ । घर बनाउँदा मसला घोल्ने, इँटा ओसार्ने, रड बोक्ने, चुरी कस्नेजस्ता काम गर्ने पुरुषले दैनिक सातदेखि आठ सय रुपियाँ पाउने गरेका छन् भने महिला कामदारलाई पाँचदेखि छ सय रुपियाँ दिइन्छ । काम लगाउने बेला महिला पुरुष केही भनिदैन्, बराबर काम गर्न सकिएन् भने उल्टै गाली गर्छन्, तर पैसा (ज्याला) दिने बेला हामी (महिला) लाई कम दिइन्छ, महतोले दुःख पोख्दै भनिन्, महिलालाई ज्यालामा निकै विभेद गरिएको छ ।

जिल्लामा पछिल्लो समय घर र अन्य संरचनाको निर्माणमा कामदारका रुपमा महिला पुरुष दुवै खटिने गरेका छन् । जिल्लाको राजमार्ग क्षेत्रका लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायतको क्षेत्रमा निर्माणका काममा पुरुष सरह महिला कामदार पनि सहभागी हुने गरेका छन् । महिला कामदार बिहान सबेरै घरधन्दा सकेर मजदुरीमा निस्किने गरेका छन् । लालबन्दी नगरपालिका–४, हरिभवनकी पानोमति देवी पाँच वर्षदेखि घर निर्माणमा कामदारका रुपमा काम गर्दै आएकी छिन् । उनलाई पनि पुरुष सरह काम गर्दा पनि ज्यालामा विभेद गर्दा चित्त बुझेको छैन् । काम उही हो, पुरुषले सात सय रुपियाँ बुझ्दा महिलालाई पाँच सय रुपियाँ मात्र दिइन्छ, पानोमतिले भनिन्, पुरुषसँगै भिडेर काम गर्दा पनि ज्यालामा विभेद गर्दा दुःख लाग्छ । विशेष गरी श्रीमानको निधन भइसकेका, श्रीमानले मदिरा सेवन गरी घर व्यवहारको वास्ता नगर्ने परिवारका महिलाले घर निर्माणका कठिन किसिमको काम गरिरहेको देखिन्छ ।

त्यस्ता महिलाले मजदुरी गरेको पैसाले घर व्यवहार धान्ने र छोराछोरीलाई पढाउने गरेका छन् । अन्य विकल्प नहुँदा कष्टपूर्ण काम गरेर व्यवहार धान्नु परेको ती महिलाको गुनासो छ । गोडैता नगरपालिका निवासी महिला अधिकारकर्मी रम्भा झाले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताए । उनले हरेक क्षेत्रमा मजदुरी गर्ने महिलालाई ज्यालामा विभेद गर्ने गरिएको बताए । घर निर्माण, खेतबारीको काम र अन्य काम गर्ने महिलालाई ज्यालामा विभेद हुने गरेको छ, झाले भनिन्, विभेद कस्ले अन्त्य गर्ने भन्नेमा अन्यौल छ । पुरुष सरह काम गर्ने महिलालाई समान ज्याला दिनुपर्ने विषय कहीँ कतै नउठेको झाले बताइन् ।

महिलाले जुन ठाउँमा मजदुरी गरेका छन् त्यहीँका स्थानीय तहले समान ज्याला दिलाउन पहल गर्नुपर्ने महिला अधिकारकर्मी झाको भनाई छ । स्थानीय तहले ठेकेदारसँग समन्वय गरी महिलालाई पनि पुरुष सरह समान ज्याला दिलाउन सम्भव रहेको उनले बताईन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!