बारीबाटै बोडी बिक्री भएपछि किसान खुशी

126

सर्लाही-स्थानीय जातको बोडीको व्यावसायिक खेती हुने सर्लाहीको विकट क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर चौकी डाँडाका किसान खेत बारीबाटै बोडी बिक्री हुन थालेपछि खुशी भएका छन् ।

बाँके खोलाको किनारमै रहेको सो क्षेत्रका किसानले अहिले धमाधम बोडी टिपेर बिक्री गरिरहेका छन् । बारीबाटै हरियो बोडी प्रतिकिलो १५० रुपियाँ सम्ममा बिक्री भइरहेको स्थानीय किसान रामबहादुर पुलामीले जानकारी दिए । पाखो बारीमा बोडी लगाएर चौकी डाँडाका किसानले बर्सेनी हिउँदको समयमा राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीय जातको बोडी हरियोमा तरकारी र सुकेपछि दालको रुपमा समेत प्रयोग हुने गरेको छ । केही वर्षअघि सम्म उत्पादित बोडी बिक्री गर्न लालबन्दी बजारसम्म ल्याउनु पर्ने भएपनि अहिले भने गाउँमै व्यापारी पुग्ने गरेका किसानले बताएका छन् ।

अन्य बाली राम्रोसँग नफल्ने पाखो बारीमा बोडी भने प्रशस्त फल्ने गरेको पुलामीले बताए । धान, मकै खासै नफल्ने १० कठ्ठा पाखो बारीमा मैले बर्सेनी बोडी लगाउने गरेको छु, पुलामीले भने, अरु बाली भन्दा यसबाटै राम्रो आम्दानी भइरहेको छ । चौकीडाँडासहित जिल्लाको उत्तरी चुरेभेगका पत्थरकोट, चिसापानी, नारायणखोला, अत्रौलीलगायतको ठाउँमा पनि स्थानीय जातको बोडीको खेती हुने गरेको छ । सिँचाई सुविधा रहेको र व्यवसायिक रुपमा तरकारी खेती हुने जिल्लाका अन्य क्षेत्रका किसानले भने उन्नत जातको बोडी लगाउने गरेका छन् ।