मौरीले टोकेर बालकको मृत्यु, पाँच जना घाईते

185

सर्लाही–सर्लाहीको मलंगवा नगरपालिका–७, सानो मुसैलीमा मौरीले टोकेर एक बालकको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

मौरीको टोकाईबाट स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको हो । वुधवार दिउँसो मौरीको टोकाईबाट घाईते भएका बालकको उपचारका क्रममा राती पौने नौ बजे जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको प्रहरीले जनाएको छ । मौरीले टोकेर गणेशकी श्रीमती ३५ वर्षीया चिन्ता देवी राय, चार वर्षका छोरा रवीकुमार, सोही ठाउँकी २४ वर्षीया अन्जली देवी यादव, ४० वर्षीया देवबती देवी र १८ वर्षका रामध्यान महतो घाईते भएका छन् ।

घाईतेमध्ये रामध्यान बाहेक अन्य चार जनालाई जिल्ला अस्पताल मलङ्गवाबाट वीरगञ्ज रेफर गरिएको थियो । घाईते सबै उपचारपछि राती नै डिस्चार्ज भइसकेका छन् ।