चार महिनादेखि अवरुद्ध बिद्युत लाईन मर्मत सुरु

181
फोटो क्याप्स्न : गत वर्ष असार अन्तिमको वर्षापछि नारायणखोलामा ढलेको बिजुलीको पोल । (तस्बिर : उज्यालो अभियान)

सर्लाही – सर्लाहीको नारायणखोलामा चार महिना भन्दा बढी समयदेखि अवरुद्ध विद्युत् सूचारु गर्न मर्मतको काम थालिएको छ ।

गत असार अन्तिममा भएको भीषण वर्षापछि विभिन्न स्थानमा आधा दर्जनजति बिजुलीको पोल भाचिँदा नारायणखोलामा विद्युत् अवरुद्ध छ । मौसम धुम्मिएर सोलारले काम गर्न छाडेपछि स्थानीय वाषिन्दाले समेत अवरुद्ध विद्युत् सूचारु गर्न नेपाल विद्युत् प्राधिकरणलाई साथ दिएका छन् । बिजुलीको पोल उठाएर तार तान्ने काममा आफूहरुले समेत सहयोग गरिरहेको नारायणखोलाका युवा राजन मगरले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले भाँचिएको पोल फेरेर तारमा छोएका हाँगाबिगा काटी जतिसक्दो चाँडो विद्युत् सूचारु गर्ने पहल भइरहेको जनाएको छ । वितरण केन्द्रका प्रमुख सुधिर रायले पोल फेर्ने र तार तान्ने काम सम्पन्न हुनासाथ स्थानीय वाषिन्दालाई बिजुली मिटर वितरण गरी बिजुली छाडिने बताए ।

विद्युत् परीक्षण हुने बित्तिकै बाढी आएर क्षति गरेपछि नारायणखोलाका वाषिन्दाले घरमा मिटर राख्न समेत पाएका छैनन् । हालसम्म सडक सञ्जालमा नजोडिएको लालबन्दी नगरपालिकाको वडा नम्वर–१४, नारायणखोलामा बर्खायाम भर गाडी सञ्चालन नभएकाले मर्मतको काम गर्न ढिलाई भएको प्राधिकरणका कर्मचारीले बताएका छन् । हिउँद लागेर खोलाको बगरबाट गाडी चल्न थालेपछि प्राधिकरणका कर्मचारी र स्थानीय युवाको सहभागितामा अवरुद्ध विद्युत् सूचारु गर्ने प्रयास भइरहेको वडाध्यक्ष सुबाईसिंह ब्लोनले बताए ।