सबै जातजाति मिले मात्रै विकास सम्भव छ : मन्त्री यादव

फोटो क्याप्सन ः कार्यक्रममा सर्लाही क्षेत्र नम्वर १ का सांसद प्रमोद साहलाई मायाको चिनो प्रदान गर्दै मन्त्री यादव । (तस्बिर : उज्यालो अभियान)

सर्लाही–प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले सबै जातजातिबीच मेलमिलाप भए मात्रै विकास सम्भव रहेको बताएका छन् ।

सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा मानव धर्म आश्रम निर्माण गर्ने उद्देश्यले आयोजित धार्मिक महायज्ञको वुधवार उद्घाटन गर्दै मन्त्री यादवले अहिलेको अवस्थामा सबै जातजाति र समुदायबीच एकता जरुरी रहेको बताए । उनले जातिय द्वन्द्वले धेरै ठाउँमा विकास प्रभावित भएकाले यहाँ त्यसो हुन नहुनेमा जोड दिए । मन्त्री यादवले नेपाल मानव धर्म सेवा समितिले मानव धर्म आश्रम निर्माण गर्ने उद्देश्यले लगाएको महायज्ञको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सर्लाही क्षेत्र नम्वर १ का सांसद प्रमोद साह, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्लेलगायतले मन्तव्य राखे । महायज्ञको उद्घाटनकै दिन आज विभिन्न मनकारी व्यक्तिहरुले आर्थिक सहयोग गरेका आयोजकले जनाएको छ । नेपाल मानव धर्मकी कौशल बाइजी प्रमुख बाचक रहेको महायज्ञ मंसिर १० गतेसम्म चल्नेछ ।