सर्लाहीमा कोदो खेती घट्यो, किसान अन्य बालितर्फ आकर्षित

367

सर्लाही–सर्लाहीमा पछिल्ला वर्षहरुमा कोदो खेती घट्दै गएको छ । पोषिलो अन्नका रुपमा लिइने कोदो जिल्लाका धेरै किसानले लगाउनै छाडेका छन् ।

सीमित किसानले उत्पादन गर्ने कोदो पनि धेरै मात्रामा घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुँदै आएको छ । कृषि ज्ञान केन्द्र मलंगवाका अनुसार सर्लाहीको चुरेभेगमा पर्ने कालिन्जोर, परवानीपुर, पत्थरकोट, नारायणखोला, अत्रौललगायतका क्षेत्रमा कोदो खेती हुने गरेको छ । यस्तै उत्तर–पूर्वी भेगको ईश्वरपुर, भक्तिपुर, गौरीशङ्करलगायतको क्षेत्रमा पनि कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले जानकारी दिए । रायले चुरेको पाखो बारीबाहेक अन्य क्षेत्रमा कोदो खेती कम हुन थालेको बताए ।

सिँचाई सुविधा नरहेको र धान नफल्ने पाखो बारीमा यसको खेती भइरहेको छ, रायले भने, सिँचाई सुविधा रहेको खेतमा भित्र्याउन सहज हुने बाली लगाउन थालिएको छ । केही किसानले भने आफ्नो घरासयी प्रयोजनका लागि थोरै जग्गामा कोदो लगाउने गरेका छन् । कृषि बाली लगाउने र भित्र्याउने समयमा काम गर्ने मानिस पाउनै छाडेपछि पछिल्ला वर्षमा किसानले कोदो लगायतका धेरैजसो रैथाने बाली लगाउनै छाडेका उनले बताए । जिल्लाको दुर्गम भेगमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलाका किसानले भने अहिलेसम्म कोदो खेती गर्दै आएका स्थानीय वडा सदस्य दीपसागर दोङले बताए ।

यस वर्ष धान, मकैमा जस्तै कोदोमा समेत फौजी किराको प्रकोप लाग्दा नारायणखोलाका किसान निराश भएका दोङले जानकारी दिए ।